काठमाडौं– सोझा–साझा व्यक्तिलाई ललाइ फकाइ मिर्गौला झिक्न प्रयोजनका लागि भारत लैजान लागेको अवस्थामा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि जेल चलान भएका छन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ घर भइ काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने ३९ वर्षीय मोति लामालाई काठमाडौं जिल्ला अदालतले मानब बेच बिखन तथा ओसार पसार उद्योग कसूर मुद्धामा पुर्पक्षका लागि चुनामा पठाएको हो।
८ लाख रुपैयाँमा मिर्गौला बेच्न पाइने भन्दै केही नेपालीलाई भारत लैजाने लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले लामालाई फागुन १६ गते काठमाडौंको माछापोखरीस्थित न्यू दक्षिणकाली होटलबाट पक्राउ गरेको थियो। मिर्गौला झिक्नका लागि भनेर लामाले भारत लैजान लागेका २ जनालाई समेत प्रहरीले उद्धार गरेको थियो।
प्रहरीले गरेको अनुसन्धानका क्रममा उनले सोझासाझा व्यक्तिलाई 'मानिसको शरीरमा दुईवटा मिर्गौला हुन्छन्, एउटा झिक्दा खासै पर्दैन' भन्दै ललाइ फकाइ मिर्गौला झिक्न भारत लैजान लागेका खुलेको थियो।
महानगरीय प्रहरी वृत्त बालाजुले लामामाथि अनुसन्धान गरेर मानब बेच बिखन तथा ओसार पसार उद्योग कसूर मुद्धा चलाउने रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेपछि बिहीबार थुनछेक बहस भएको थियो। बिहीबार नै अदालतले आदेश जारी गर्दै लामालाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।