काठमाडौं– नेपाल र चीनका बीचमा विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर भएको छ। शनिबार नेपाल र चीनका परराष्ट्रमन्त्रीसहित प्रतिनिधिमण्डस्तरीय वार्तापछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भाव र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा पनि हस्ताक्षर भएको जनाइएको छ।
परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए।
यस्तै, चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइ थिए।
प्रतिनिधिमण्डलस्तरीय वार्ता अगाडि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई देशका परराष्ट्रमन्त्री बीच भेटवार्ता भएको थियो।
भेटमा परराष्ट्रमन्त्री खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङबीच नेपाल–चीन सम्बन्धका समग्र पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। दुई नेताबीचको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो।
भेटवार्तामा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुनका साथै कोरोना महामारीको कठिन परिस्थितिमा चीनले खोपसहित विविध स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट मन्त्री खड्काले आभार व्यक्त गरे। परराष्ट्रमन्त्री खड्काले 'एकचीन नीति'प्रति नेपालको अटल प्रतिबद्धता दोहोर्याउँदै नेपाली उत्पादन चीनतर्फ निकासी हुने नाका सञ्चालन नहुँदा मुलुकको अर्थतन्त्रमा परेको नकारात्मक असरतर्फ चिनियाँ विदेशमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।