काठमाडौं– नेपालबाट २ वटा हात्ती बिक्रीका लागि भारत लैजान लागिएको अवस्थामा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
बिक्री वितरणको लागि हात्तीहरू नेपालबाट भारत तर्फ लैजाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिबार ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँका ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवा घर भएका ३५ वर्षीय सफरोज आलम छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ६० वर्षीय महतो र ४० वर्षीय कुमाल माउते हुन भने आलम हात्ती विक्रीवितरण गर्ने व्यक्ति हुन्।
२ वटा हात्ती नेपालबाट भारत बिक्री गर्न लैजाँदै गरेको अवस्थामा शनिबार मध्याह्न १२ बजेतिर पर्साको पकहामैनपुर गाउँपालिका– ५ पोखरिया टोलबाट हात्तीसहित ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।