काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसालले उस्तै विचार र एउटै सिद्धान्त भएका तीनटा पार्टी जरुरी नभएको बताएका छन्। वाम एकताका विषयमा आफूले राखेका विचार विस्तृतमा प्रस्तुत गर्दै उनले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टाछुट्टै हिँड्नुपर्ने कारण नभएको बताए।
मंगलबार पत्रकारसम्मेलन गर्दै उनले भने, 'यी पार्टी विभाजनको सैद्धान्तिक आधार छैन। जुन कम्युनिस्ट पार्टी चुनावमा जान्छु भन्छ, त्यो छुट्टै रहनुको कुनै वैचारिक र सैद्धान्तिक कारण देखिँदैन। सवै समाजवाद ल्याउन जाने हो। समाजवादका लागि तयारी गर्नुपर्छ। राष्ट्रिय पुँजीको पर्याप्त विकास गर्नुपर्छ। लोकतान्त्रिक बाटोबाटै जाने हो। एमालेले गर्ने पनि त्यही हो। माओवादी ले पनि त्यही हो। एकीकृत समाजवादीले पनि त्यही हो।'
यसरी एउटै कुरा गर्नका लागि तीनवटा पार्टी जरुरी नभएको उल्लेख गर्दै सिद्धान्त र विचारको रामरमिता छाड्नुपर्ने बताएका छन्। राजनीतिक रुपमा पुस ५ मा गरिएको विघटन एउटा रहेको बताउँदै त्यो समेत अदालतले निर्णय गरिसकेको बताए।
बरु तीन दल बनेर जाँदा एकले अर्कोलाई खुइल्याएर नेपालमा कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने उनले बताए। 'माधव-प्रचण्डको आँखामा ओलीजी खतरनाक तत्व हुने, ओलीले माधव र प्रचण्ड खतरानाक भनिदिने र बाहिरबाट दुवै खतरानक देखिने। सामान्य कहाँ पुग्दा सवै खतरानक देखिने भए। त्यसैले यी सवैकुरा भन्दा माथि उठ्नुपर्छ,' भुसाल भने।
उनले नेपालको कम्युनिस्टलाई एकता गर्नु भनेको लोकतान्त्रिक गणतन्त्रलाई बलियो पार्नु रहेको बताउँदै त्यही उचाइबाट यसलाई हेर्नुपर्ने बताए। पार्टीका रुपमा नेकपा एमाले एकताको नेतृत्व लिनुपर्ने उनको भनाइ छ। 'किन एकताको नेतृत्व एमालेले गर्नुपर्छ भने हामी ठूलो पार्टी हौं। एकताको नेता प्रतिनिधि हो। मूलप्रवाह हौं। आज पनि यथोचित र शानदार नेतृत्व गर्नु एमालेको दायित्व हो। मेरो पार्टीलाई यसरी बुझ्छु,' उनले विश्लेषण गरे।
नेताहरुको स्वार्थमा आधारित एकता टिक्दैन भन्ने विगतबाट सिकेको बताउँदै आगामी दिनमा कम्युनिस्ट पार्टीको मात्रै एकता हुने बताए। कम्युनिस्ट पार्टी एकता हुँदा नेताका स्वार्थ त्यहीँ पूरा हुने उनको भनाइ छ।
पहिले पनि एकताको कुरा गर्दा आफूलाई पार्टीमा एक्लो पारिएको उल्लेख गर्दै भने, 'भदौसम्म मलाई एकता कुरा गर्ने भन्दै विरोध गरियो। असोजको बीचमा एकता भयो, मंसिरमा चुनाव थियो। त्यसैले अहिले पनि असम्भव छैन। ढिलो भएको होइन।'
कम्युनिस्ट आन्दोलनमा गएको एक वर्षमा जे समस्या आए, त्यसको गच्छेअनुसार जिम्मवारी लिँदा समस्या सल्टिने उनको बुझाइ छ। 'यो विभाजनमा हामी सवै जिम्मेवार छौं। को कति भन्ने मात्रै भयो भने मुख्य प्लेयरहरु भइहाले, सहायक म पनि हुँ। पदअनुसार भूमिकाअनुसार योगदान गरेका छौं। हामीले साना दु:खले विभाजन गरेको होइन। साना दु:खले बर्बाद पारेको होइन। रगत पसिना नै लगाएका हौं,' उनले भने, 'कसको कति छ भन्ने पछि हेरौंला भन्ने भयो भने गठबन्धन सम्भव छ। यति मात्रै भनियो भने प्रक्रिया सुरु भइहाल्छ। चुनावमा गठबन्धन बन्न सम्भावना छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।