काठमाडौं– सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन्।
प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको छ।
बुधबार बिहान पूर्णिमाका ३ वर्ष र ६ महिनाका दुई छोरीहरु घरभित्रै मृत भेटिएका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आमा पूर्णिमालाई घरबाटै नियन्त्रणमा लिएको थियो।
पूर्णिमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनीविरुद्ध बिहीबार जाहेरी दर्ता भएपछि औपचारिक रुपमा बयान लिने लगायतका प्रक्रिया अघि बढ्ने छ।
यद्यपि प्रारम्भिक सोधपुछको क्रममा उनले पारिवारिक तनावका कारण छोरीहरुलाई घाँटी थिचेर मारेको बताएकी छन्। प्रहरीका अनुसार उनी आफैंले आत्महत्याको प्रयास समेत गरेकी थिइन्।
‘आफूले आत्महत्या गर्छु भनेर प्रयास गरेको र तर नसकेको र पछि छोरीहरुको हत्या गरेको बयान दिएकी छन्।
पूर्णिमाको बिहै सानै उमेरमा भएको थियो। प्रहरीका अनुसार उनको बिहे हुँदा १४ वर्षकी थिइन्। अहिले उनी १७ वर्ष पुगिन्। उनका श्रीमान् टेकमान राना २५/२६ वर्षका छन्।
सानै उमेरमा दुई छोरीको जन्म भएपछि पूर्णिमामा आइपरेको जिम्मेवारीले गर्दा पनि तनाव बढाएको हुनसक्ने अनुमान प्रहरीको छ।
घर खर्च चलाउन उनका श्रीमान टेकमान नुवाकोटमा बसेर काम गर्दै आएका थिए। ‘श्रीमान जेठाजु, सासू, ससुरा सबै कामको सिलसिलामा नुवाकोटमा रहेछन्,’ सल्यान प्रहरी स्रोतले भन्यो, ‘घटनापछि उहाँहरु सल्यान फर्किंदै हुनुहुन्छ। त्यसपछि घटनाबारे थप कुराहरु खुल्ला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।