काठमाडौं- युक्रेनमा तीव्र रूपमा बिग्रँदै गएको सुरक्षा अवस्थाबीच भारतले आफ्नो दूतावास अस्थायी रूपमा पोल्याण्डमा सार्ने निर्णय गरेको छ। रुसी सेना युक्रेनको राजधानी किएभ र अन्य प्रमुख सहर नजिक रहेको बेला यो निर्णय गरिएको हो।
‘युक्रेनको पश्चिमी भागहरूमा भएका आक्रमणहरू र देशको द्रुत रूपमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै युक्रेनमा रहेको भारतीय दूतावासलाई अस्थायी रूपमा पोल्याण्डमा सार्ने निर्णय गरिएको छ,’परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,‘थप घटनाक्रम पछि स्थितिको पुन: समीक्षा गरिनेछ।’
किएभस्थित भारतीय दूतावासका धेरै अधिकारीले केही दिनदेखि लभिभमा रहेको अस्थायी कार्यालयबाट काम गरिरहेका छन्। युक्रेनमा फसेका भारतीय नागरिकलाई युक्रेनी सीमाबाट बाहिर निकाल्न लभिभस्थित दूतावासको यो अस्थायी कार्यालय स्थापना गरिएको हो ।
लभिभ युक्रेनको पश्चिममा अवस्थित एउटा सहर हो र पोल्याण्डको सिमानाबाट करिब ७० किलोमिटर टाढा छ।
युक्रेनमा युद्धको बीचमा भारतले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न २६ फेब्रुअरीमा ‘अपरेशन गंगा’ अभियान सुरु गरेको थियो। र, अहिलेसम्म युद्धग्रस्त देशका विभिन्न भागहरूबाट १८ हजारभन्दा बढी नागरिकहरूलाई ल्याइसकेको छ।
युक्रेनमा रहेका भारतीय नागरिक छिमेकी मुलुक रोमानिया, पोल्याण्ड, हंगेरी, स्लोभाकिया र मोल्डोभा पुगेका थिए। त्यसपछि भारतले आफ्ना नागरिकलाई त्यहाँबाट निकालेको थियो।
रुसले सैन्य कारबाही सुरु गरेपछि युक्रेनले नागरिक विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।