काठमाडौं- पश्चिमी प्रतिबन्धबाट देशको अर्थतन्त्रमा परेको धक्कासँग जुध्न चीनको सहयोगको अपेक्षा गरेको रुसले बताएको छ। प्रतिबन्धले आफ्नो सुन र विदेशी मुद्रा सञ्चिति झण्डै आधा जफत भएको रुसले जनाएको छ।
विदेशमन्त्री एन्टोभ सिलुआनोभले भने,‘हामीसँग चिनियाँ मुद्रा युआन, सुन र विदेशी मुद्रा भण्डारको एक अंश छ। र, हामी हेर्नेछौं चीनसँगको हाम्रो पारस्परिक व्यापार सीमित गर्न पश्चिमी देशहरूले कस्तो दबाब दिन्छन्।’
पश्चिमी बजारहरू बन्द हुने वातावरणमा पनि बढ्न सक्ने उनले बताए। फेब्रुअरी २४ मा युक्रेनमा भएको हमलापछि पश्चिमी देशहरूले रुसको कर्पोरेट र वित्तीय प्रणालीमाथि प्रतिबन्ध लगाएका छन्। रुसले युक्रेनमा भएको आक्रमणलाई विशेष सैन्य कारबाही भनेको छ।
हालैका वर्षहरूमा मानवअधिकार र अन्य मुद्दाका कारण चीन र रुसमाथि पश्चिमी दबाब बढ्दै गएका बेला यी दुई देश एकअर्काको धेरै नजिक आएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फेब्रुअरी ४ मा बेइजिङमा भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।