काठमाडौं– विगत केही सातादेखि ओरालो लागिरहेको नेप्से गत साता भने सामान्य बढेको छ। गत साता नेप्से परिसूचक करिब २० अंक बढेको थियो।
अघिल्लो साता २५४७.०४ विन्दुमा बन्द भएको नेप्से गत साता ०.७८ प्रतिशत अर्थात १९.७५ अंक बढेर २५६६.७९ विन्दुमा पुगेको थियो।
साताका ५ मध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन बजार घटेर बन्द भएको थियो भने २ कारोबार दिन बढेर बन्द भएको थियो।
यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २७०५.९६ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २४१४.११ विन्दुमा टेवा पाउने देखिन्छ।
गत साता नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार करेक्सन जोनमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घटेको छ।साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताको चाप रहेको संकेत गर्दछ।
यस साताको बजारलाई बैंकहरुले प्रकाशित गर्ने ब्याजदरले प्रभाव पार्ने देखिन्छ। यस साता बैंकहरुले चैत महिनाको लागि ब्याजदर प्रकाशित गर्नेछन्। बैंकहरुले ब्याजदर बढाएमा बजारमा थप दबाब सिर्जना हुन सक्छ भने ब्याजदर घटेमा बजारका लागि सकारात्मक हुनेछ।
गत साता नेप्से बढे पनि भोल्यूम भने कमजोर देखिएको छ। गत साता दैनिक औसतमा २ अर्ब ५६ करोडको सेयर खरिदबिक्री भएको थियो। नेप्सेको २० दिने औसत भोल्यूम ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। २० दिने औसत भोल्यूमको तुलनामा दैनिक औसत भोल्यूम २७.१८ प्रतिशत कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।