काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसी सैनिकसँगको झडपमा अहिलेसम्म करिब १ हजार ३ सय युक्रेनी सैनिकको ज्यान गएको बताएका छन्।
राजधानी किएभमा पत्रकार सम्मेलन गर्दै उनले उक्त जानकारी दिएका हुन्। उनका अनुसार शुक्रबार करिब ५००/६०० रुसी सैनिकले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेका छन्।
पश्चिमी स्रोतहरूले शुक्रबारसम्म करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको अनुमान गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले पत्रकार सम्मेलनमा रुसी सैनिकले जनताको मन कब्जा गर्न नसकिने र सहर कब्जा अस्थायी भएको बताए।
यसै क्रममा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दक्षिणी क्षेत्र मेलिटोपलका मेयरको अपहरण गरेकोमा रुसलाई लाज लाग्नुपर्ने बताए। १० जनाको समूहले मेलिटोपोलका मेयर इभान फेडोरोभलाई अपहरण गरेको युक्रेनका अधिकारीहरूले दाबी गरेका छन्।
मेयर इभानले शत्रुलाई सहयोग गर्न इन्कार गरेपछि अपहरणमा परेको युक्रेनका अधिकारीहरूले बताएका छन्। यस क्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुसी सेनाले आईएसआईएस आतंकवादीले जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।