काठमाडौं- पूर्वी लद्दाखका केही स्थानमा जारी गतिरोध समाधानका लागि भारत र चीनबीच पुन: एकपटक सैन्य वार्ता भएको छ। चुशुल–मोल्डो सीमा नाकामा भारत र चीनबीच शुक्रबार कोर्प्स कमाण्डर स्तरको १५औं चरणको बैठक भएको हो।
यसअघि १२ जनावरीमा १४औं चरणको वार्ता भएको थियो। जसमा पश्चिमका एलएसीका समस्या समाधानका लागि वार्ता भएको थियो र हालै भएको बैठकमा पनि सोही विषयमा थप छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बाँकी रहेका समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्न दुवै पक्षबीच विस्तृत छलफल भएको हो। बाँकी रहेका समस्याको समाधानका लागि दुई पक्षबीच सैन्य र कूटनीतिक माध्यमबाट वार्ता जारी रहने पनि सहमति भएको छ ।
पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनको सेना बीचको विवाद ५ मे २०२० मा सुरु भएको थियो। त्यसपछि १५ जुनमा गलवान उपत्यकामा दुवै देशका सैनिकबीच फेरि झडप भएको थियो । यस क्रममा दुवै पक्षका धेरै सैनिक मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।