हेटौँडा- प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।
हेटौँडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्डसहितको प्रस्तुति, विद्यार्थीहरूद्वारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारू समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो।
प्रतियोगिताअन्तर्गत मकवानपुरमा आइतबार पुरुषतर्फको फुटबल हुनेछ। पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषद्ले जनाएको छ। खेल नकआउट चरणमा हुनेछ। प्रतियोगितामा आठवटा खेल हुने छन्। मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन र चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ। त्यस्तै चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।
त्यस्तै, सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ। त्यस्तै काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्यसचिव भण्डारीले बताए।
प्रतियोगिताका लागि रु आठ करोड चार लाख खर्च हुने अनुमान गरेको छ। विभिन्न खेलमा करिब दुई हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन्। खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।