काठमाडौं- पाकिस्तानी सेनाले बिहीबार एउटा ध्वनिभन्दा तीव्र गतिमा उड्ने (सुपरसोनिक) वस्तु भारतबाट पाकिस्तानमा आएको र आफ्नो भूमिमा खसेको दाबी गरेको छ।
यो सुपरसोनिक वस्तु आफै खसेको पाकिस्तानी सेनाले जनाएको हो। यसबारे पाकिस्तानको वायुसेनाले छानबिन गरिरहेको बताइएको छ।
पाकिस्तानी सेनाले यो यात्रु उडानका लागि निकै खतरनाक भएको जनाएको छ। यस विषयमा पाकिस्तानी सेनाले भारत सरकारसँग जवाफ मागेको छ।
यता, भारतीय रक्षा मन्त्रालयले यो दाबीलाई स्वीकार्दै प्राविधिक गडबडीका कारण क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। अहिले सरकारले यस विषयमा उच्चस्तरीय छानबिन गर्न आदेश दिएको रक्षा मन्त्रालयलले जनाएको छ।
रक्षा मन्त्रालयले भनेको छ,‘नियमित मर्मतसम्भारको क्रममा ९ मार्च २०२२ मा, क्षेप्यास्त्र अचानक प्राविधिक खराबीका कारण प्रहार भएको थियो। भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ र उच्चस्तरीय छानबिनको आदेश दिएको छ।’
क्षेप्यास्त्र पाकिस्तानको भू-भागमा खसेको जानकारी प्राप्त भएको रक्षा मन्त्रालयले जनाएको छ। तर, घटनामा कसैको ज्यान नगएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।