काठमाडौं- सुन चाँदीका गरगहना लुटेर भाग्दै गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
बिहिबार करिब ११ :४५ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकस्थित सडक खण्डमा नुवाकोट सूर्यगढी गाउँपालिका- २ घर भई हाल बालुवाटार बस्ने बर्ष २५ को राजकुमार तामाङको साथमा रहेक सुन चाँदीका गरगहनासहितको झोला लुटपाट भएको थियो।
उक्त सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट तत्कालै प्रहरी टोली परिचालन गरी लुटपाट गरी भाग्दै गरेको अवस्थामा कुमारी गल्लीबाट ‘परिवर्तित बालाजु ०७८(८८)’ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनका साथबाट सुनको मंगलसुत्र एक तोला, चाँदीको ब्रास्लेट १ थान, रातो पोतेको माला १ थान,गरगहना राख्ने ब्याग १ थान र कालो रङगको झोला १ थान बरामद गरिएको छ।
उक्त घटनाको सम्बन्धमा मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा आरोपितलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।