काठमाडौं- रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको छ।
युक्रेनी टिभी र सञ्चारमाध्यमहरूले उत्तर-पश्चिममा रहेको लुट्स र मध्य-पूर्वमा रहेको नीप्रो सहरमा विस्फोटहरू भएको बताएका छन्। यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन।
लुट्समा गरिएको आक्रमणमा वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानालाई निशाना बनाइएको बताइन्छ।
लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न सामाजिक सञ्जालमार्फत् आग्रह गरेका थिए। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोधसमेत गरेका छन्।
नीप्रोमा तीन स्थानमा विस्फोट भएको बताइएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो-फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको छ।
इभानो-फ्रान्किभिस्कका नगरप्रमुखले पनि सामाजिक सञ्जालमार्फत् आक्रमणको पुष्टि गरेका छन्। उनले शत्रुले हमला गरेको फेसबुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।