काठमाडौं– लागुऔषध खैरो हिरोइनसहित ११ जनालाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँबाट विभिन्न मितिमा ११ जनालाई ब्यूरोको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरुबाट ३२२ दशमलव ६ ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरोका प्रवक्ता तथा एसपी जीवन श्रेष्ठले बताए। माघ १० गते म्याग्दीको मंगला गाउँपालिका–५ घर भएका २५ वर्षीय लालबहादुर बुढाथोकी बूढानीलकण्ठबाट पक्राउ परेका थिए। उनको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो।
बुढाथोकी पक्राउ परेको ४ दिनपछि दोलखाको भीमेश्वर नगरपालिका–१३ का २५ वर्षीय कौशल बस्नेत र स्न्धिुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ का ३३ वर्षीय समीर घले पक्राउ परेका थिए। उनीहरुबाट २१ ग्राम खैरो हेरोइन बरामद भएको थियो।
लगत्तै भोलिपल्ट बूढानलीकण्ठबाटै झापाको हल्दिबारी गाउँपालिका–१ का २४ वर्षीय अन्जान राई र उनका सहयोगी सोही गाउँपालिका–४ का २३ वर्षीय सञ्जय लक्सम्बा पक्राउ परेका थिए। उनीहरुबाट ७ दशमलव ५ ग्राम खैरो हेरोइन बरामद भएको थियो।
माघ २६ गते धुम्बाराहीबाट अन्जान राईलाई लागुऔषध उपलब्ध गराउने झापाको बिर्तामोडका २९ वर्षीय कर्मा भनिने अजय तामाङ २९४ ग्राम खैरो हेरोइनसहित समातिएका थिए। २६ गते नै बिर्तामोडबाट लागुऔषधको कारोबार गरेको आरोपमा बिर्तामोडका २८ वर्षीय पुकार राई समातिएका थिए।
त्यसैदिन, बिर्तामोडका ३० वर्षीय प्रवीण भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो। माघ २७ गते दमक नगरपालिका–८ बाट कौशल बस्नेतलाई लागुऔषध उपलब्ध गराएको आरोपमा दमक ८ का २८ वर्षीय सुनिल ताजपुरियालाई पक्राउ गरिएको एसपी श्रेष्ठले बताए।
फागुन ११ गते भने भारत दार्जिलिङ खोरीबारी थाना गोरसिंहजोत पानीट्यांकी घर भएका ३१ वर्षीय श्याम भनिने श्यामल सिंह बिर्तामोडबाट पक्राउ परेका थिए। भारतीय नम्बर प्लेटको कारसहित उनी समातिएका थिए।
फागुन १६ गते भने सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेललाई समेत ब्यूरोको टोलीले पक्राउ गरेको थियो। लागुऔषध कारोबार गरेको आरोपमा भुजेल पक्राउ परेका थिए। उनी सशस्त्र प्रहरी बल नम्बर २ हेडक्वार्टरमामा कार्यरत हुन्।
पक्राउ परेकाहरूलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ। लाल बहादुर बुढाथोकी लागुऔषध प्रयोगकर्ता समेत भएकाले उनले कौशल बस्नेतसँग खरिद गरी सेवन गर्ने गरेको अनुसन्धानबबाट खुलेको छ।
कौशल बस्नेतले अन्जान राईसँग लागुऔषध खरिद गरी आफैं तथा समिर गुरुङमार्फत लागुऔषधको बिक्रि गर्ने गरेको पाइएको एसपी श्रेष्ठले बताए।
अन्जान राईले प्रविण भण्डारीसँग खैरो हेरोइन अर्डर गर्ने र कर्मा भन्ने अजय तामाङले प्रविणसँग खैरो हेरोइन लिई काठमाडौंसम्म ल्याई अन्जान राईलाई उपलब्ध गराउने गरेको पाइएको छ।
उता अन्जान राईले भने लागुऔषध खरिदका लागि सञ्जय लिम्बुको खातामार्फत पुकार गुरुङलाई रकम पठाउने गरेका थिए। पुकार गुरुङले उक्त रकम निकालेर प्रविण भण्डारीलाई दिने र प्रविण भण्डारीले लागुऔषध खरिद गरि अञ्जन राईलाई पठाउने गरेको पाइएको छ।
प्रविण भण्डारीले भारत सिलगुडी गई लागुऔषध खरिद गरी कर्मा भन्ने अजय तामाङमार्फत अन्जान राईलाई बिक्री गर्ने गरेका थिए। कौशल बस्नेतले सुनिल ताजपुरियासँग समेत लागुऔषध खैरो हेरोइन खरिद गर्ने गरेको थिए।
सुनिल ताजपुरीयाले शसस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलमार्फत भारतीय नागरिक श्यामल सिंहसँग लागुऔषध खरिद गरि कौशल बस्नेतलाई उपलब्ध गराउने एसपी श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।