काठमाडौं– पछिल्लो एक वर्षको अवधिमा बैंकहरुले दिने कर्जाको ब्याजदर औसतमा १.५६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंकहरको औसत आधारदर (बेसरेट) ६.४९ प्रतिशत थियो। जुन चालु आवको सोही अवधिमा ८.५३ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंक शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
बेसरेट बढेसँगै वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर समेत १.४२ प्रतिशतले वृद्धि भएको छ। गत आवको माघ महिनामा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर ८.५३ प्रतिशत थियो। जुन चालु आवको सोही अवधिमा १०.३१ प्रतिशत पुगेको छ।
लामो समयदेखि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभावमा कर्जाको माग अनुसार बैंकहरुले अहिले पनि निक्षेप संकलन गर्न सकेका छैनन्। निक्षेपकर्ता आर्कषित गर्न ब्याजदर बढाउनै पर्ने बाध्यतामा खर्च बढ्दा बैंकहरुले कर्जाको ब्याजदर महिनैपिच्छे बढाएका हुन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार माघ महिनासम्म निक्षेपको औसत ब्याजदर ६.९७ प्रतिशत कायम छ। जुन गत आवको सोही अवधिमा ४.८६ प्रतिशत कायम थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।