काठमाडौं– गत पुसमा ५.६५ प्रतिशत रहेको मूल्यबृद्धि फेरि उकालो लागेर ६ प्रतिशत हाराहारी पुगेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको स्थिति प्रतिवेदनले मूल्यबृद्धि फेरि उकालो लागेको देखाएको हो।
गत कात्तिक महिनामा मूल्यबृद्धि ७.११ प्रतिशतसम्म पुगेको थियो। माघ महिनासम्म आइपुग्दा घट्दोक्रममा रहेको मूल्यको आँकडा फागुनमा फेरि उकालो लागेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती दर ५.९७ प्रतिशत छ। गत वर्षको यही अवधिमा यस्तो मुद्रास्फिती दर २.७० प्रतिशत थियो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष मूल्यबृद्धि दर ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ। तर, अहिले विश्वभर भएको वस्तुको मूल्यबृद्धिले मौद्रिक नीतिको लक्ष्य हासिल नहुने देखिएको छ।
पछिल्ला केही वर्ष मूल्यबृद्धि दर सामान्य थियो। अब फेरि उच्च मूल्यबृद्धि सुरू हुन लागेको अनुमान जानकारहरुले गरेका छन्। रुसले युक्रेनमा आक्रमण गरेपछिको परिस्थितिले मूल्यबृद्धि आकासिने अर्थविज्ञहरु बताउँछन्।
गत माघमा खाद्य पदार्थको मूल्यबृद्धि दर ६ प्रतिशतसम्म पुगेको छ। खाद्य पदार्थको मूल्य बढ्दा न्यून आय भएका नागरिक बढी मर्कामा पर्छन्। राष्ट्र बैंकको तथ्यांक हेर्दा सबभन्दा धेरै घ्यु, तेलको मूल्य करिब २१ प्रतिशत, दाल र गेडागुडीको मूल्य करिब १४ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार माघसम्म देशको शोधनान्तर घाटा (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) दुई खर्ब ४७ अर्बले घाटामा रहेको छ। यस्तो घाटा अघिल्लो महिना दुई खर्ब ४१ अर्ब रुपैयाँ थियो। चालु खाता घाटा करिब चार खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ।
माघसम्म आइपुग्दा देशको विनिमय सञ्चिति नौ अर्ब ७५ करोड डलरमा ओर्लिएको छ। पुसमा यो नौ अर्ब ८९ करोड डलर थियो। एक महिनामा डलरको सञ्चिति करीब १४ करोड डलरले घटेको हो। यद्यपि, यो परिमाणको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ।
माघमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तार क्रेडिट सुविधा अन्तर्गत १३ अर्ब रुपैयाँ (११ करोड डलर) ऋण भित्रिएका कारण सरकारको शोधनान्तर स्थिति थप घट्न र विदेशी विनिमय सञ्चितिमा थप चाप पर्न कम भएको हो।
माघ महिनामा रेमिट्यान्स पाँच खर्ब ४० अर्ब रुपैयाँ बराबर भित्रिएको छ। यो रेमिट्यान्स गत वर्षको यसै अवधिको भन्दा ४.९ प्रतिशत कम हो।
आयात बृद्धिदरमा सामान्य गिरावट
चालु आवको सात महिनासम्मको तथ्यांक हेर्दा आयातको बृद्धिदर केही घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
मंसिरसम्म मासिक एक खर्ब ६७ अर्ब रुपैयाँको आयात हुने गरेकोमा पुसमा यस्तो आयात एक खर्ब ६० अर्ब रुपैयाँ हाराहारीमा झरेको थियो। माघमा भने आयात एक खर्ब ४८ अर्ब रुपैयाँ हाराहारीमा झरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
राष्ट्र बैंकले केही समय अगाडि आयातलाई निरुत्साहन गर्न विभिन्न उपाय कार्यान्वयनमा ल्याएको छ। माघसम्म देशले ११ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ।
यो अघिल्लो वर्षको तुलनामा करीब ४३ प्रतिशत धेरै हो। तर, यो अवधिमा निर्यात भने ८८ प्रतिशतले बढेर एक खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।