काठमाडौं– करिब २ लाख भारुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई थाई नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा थाइल्याण्डी ३२ वर्षीया वनविसा जनतासन र ४१ वर्षीया वारपोर्न खुनसोमबत छन्। उनीहरुलाई विमानस्थल प्रहरीले बिहीबार पक्राउ गरेको हो। विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालका अनुसार उनीहरु भिस्तारा एयरलाइन्सको उडान नम्बर युके १५६ मार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए।
एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा शंकास्पद देखिएपछि उनीहरुको झोला खोलेर हेर्दा भारु बरामद भएको हो। जनतासनको झोलाबाट २ हजार दरका भारु ४ थान र ५ सय दरका भारु ३४३ थान गरी १ लाख ७९ हजार ५ सय बराम भएको थियो। खुनसोमबतको झोलाबाट ५ सय दरका भारु २३० थान गरी १ लाख १५ हजार बरामद भएको थियो।
पक्राउ परेका दुबै जनालाई अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, बुझाइएको एसएसपी ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।