काठमाडौं- सरकारले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न र्यापिड टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले वञ्चरेडाडाँलाई व्यवस्थापन गर्न यस्तो फोर्स गठन गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ल्याडफिल्ड साइटमा देखिएका समस्या समाधान गर्न र यसअघिका प्रतिवद्धता पूरा गर्न सरकार तयार रहेको बताए । उनले वञ्चरेडाँडामा पहुँच सडकको निर्माण गर्न निर्देशन दिने निर्णय गरेको बताए।
स्थानीय जनप्रतिनिधि संलग्न रहेको उच्चस्तरीय टास्क फोर्स गठन गरेर यसले सबै समस्या समाधान गर्ने उनको भनाइ छ।
त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थामीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
संयुक्त राष्ट्र संघको बैठकमा अन्तर सरकारी चौथो सत्रमा सहभागी हुने कानुन मन्त्रालयका उदयराज सापकोटाको भ्रमण स्वीकृती दिने, विउ विजनको जात सूचीकृत गरि राजपत्रमा प्रकाशित गर्न स्वीकृती दिने र मल खरिदका लागि जी टु जी अनुसार भारतसँग छलफल गर्न कृषि सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।
त्यस्तै मल खरिदका लागि कृषि सामाग्री केन्द्र लिमिटेडलाई मल खरिदको केन्द्र तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
नेपाल र साउदी अरब सरकारका बीचमा हुने सम्झौताको मस्यौदामा हस्ताक्षर गर्न परराष्ट्रलाई स्वीकृती दिने र फोहोर मैला सम्वन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
त्यस्तै पत्रकार दुर्घटना व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने र सार्वजनिक खरिद नियमावली ११ औं संशोधन स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। प्रवक्ता कार्कीले नेपाल आयल निगमले पटक पटक मूल्य बृद्धि गर्नुमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिमा समायोजन भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।