काठमाडौं- युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी फौजको आक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन विभिन्न ६ वटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताएका छन्।
एउटा भिडिओ सन्देशमा उनले सुमी, एनर्होडार र किएभ आसपासका क्षेत्रबाट बुधबार करिब ३५ हजार मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताए।
तर, त्यो संख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उनले उल्लेख गरे। बिहीवार थप तीनवटा मार्ग पहिल्याउने काम भइरहेको जेलेन्स्कीले जानकारी गराएका छन्।
यता, सुमी क्षेत्रको ओख्तीर्का नगरमा बुधबार राति गरिएको हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
मृतकमध्ये एक १३ वर्षीय बालक र दुई महिला छन्। उक्त क्षेत्रका प्रशासक दिमित्रो झीभीस्त्कीका अनुसार रुसी सेनाले मध्यरातपछि बम आक्रमण गरेको थियो। आवासीय क्षेत्रहरू तथा एउटा ग्यास पाइपलाइ बम प्रहार भएको उनले बताए।
झीभीस्त्कीका अनुसार स्थानीय समयानुसार बिहान ९ बजेदेखि सर्वसाधारण मानिसलाई सुरक्षित स्थानतिर जान निकास मार्ग दिइने अपेक्षा गरिएको छ। बुधबार सुमी क्षेत्रबाट ५ हजार मानिस अन्यत्र गएका थिए। सुमी केही दिनदेखि रुसी बम आक्रमणको निसानामा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।