पर्सा– प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा महत्त्वूर्ण भूमिका निर्वाह गर्ने र लाखौँ नेपालीलाई रोजगार दिने यी क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी साझा धारणा बनाउन आवश्यक रहेको बताए।
प्रधानमन्त्री देउवाले विदेशबाट आयात हुने उपभोग्य वस्तु र सेवाले विदेशी मुद्राको मागलाई अत्यधिकरूपमा बढाएको र यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको जानकारी दिए।
बढेको विदेशी मुद्राको माग र व्यापार घाटालाई काम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले निजी क्षेत्रको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कोभिड–१९ को नकारात्मक प्रभाव खेपिरहेका लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई उत्थान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए। उनले दिगो विकास र समृद्धि सरकारको मुख्य लक्ष्य रहेको र यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गरे।
महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट ४२६ जना र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनमा देशभरिबाट २५२ जना प्रतिनिधि सहभागी छन्।
भोलि पर्सिसम्ममा दुवै संगठनको छुट्टाछुट्टै बन्दसत्र सञ्चालन हुने र बन्दसत्रबाट आगामी वर्षका नीति तथा कार्यक्रम तय हुनुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।