काठमाडौं– पछिल्लो दुई हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहबार बृद्धि भएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१६ अंकले बढेको छ।
बिहीबार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता सेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
नेप्से परिसूचक ५० अंक भन्दा बढीले बढेपनि कारोबार रकममा भने खासै सुधार भएको छैन। बुधबार २ अर्ब ३५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जसमा वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०६ प्रतिशत बढेको छ।
त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ। व्यापार, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
बिहीबार कारोबारमा आएको इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलोपर्स, प्रोग्रेसिभ फाइनान्स, ज्योती विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। नेपाल टेलिकम र एनआईसी एशियाको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।