गंगा जलले गोडा धोएर हिन्दू धर्ममा फिर्ता गराउँदै बीजेपी नेता प्रबल प्रताप सिंह।
भारतको छत्तीसगढको आदिवासी गाउँ ब्रिम्डेगामा गएको फेब्रुअरीमा भएको एक धार्मिक समारोहमा २२ व्यक्ति इसाईबाट हिन्दू धर्ममा फिर्ता गराइए। धार्मिक समारोहका आयोजकले उक्त प्रक्रियालाई ‘घर फिर्ता’ भनेका थिए। हिन्दूबाट इसाई भएकालाई पुनः हिन्दू नै बनाउने प्रक्रियालाई उनीहरूले यस्तो नाम दिएका हुन्।
हिन्दू धर्ममा फर्किएकामध्ये एक युवक परमेश्वर एक्काका अनुसार उनले कैयौँ महिनासम्म आफ्ना गुरुसँग छलफल गरेपछि हिन्दू धर्ममा फिर्ता हुने निर्णय गरेका थिए। ‘हामी सुरुमा हिन्दू नै थियौँ। अनजानमा एक दुई वर्षका लागि इसाई धर्ममा लाग्यौँँ। उनीहरूले प्रार्थना गरेर दुःख, कष्ट हराउँछ भनेका थिए, वर्षभरि प्राथना गर्दा पनि दुःख गएन। अनि फेरि गुरुबाट हाम्रो धर्म परिवर्तन भयो,’ उनले भने।
ब्रिम्डेगा छत्तीसगढको जशपुर जिल्लामा पर्छ र झारखन्ड तथा ओडिशासँग जोडिएको छ। यो एउटा ठूलो आदिवासी क्षेत्र हो। यो पूरै क्षेत्रमा वर्षौँदेखि हिन्दू धर्ममा फिर्ता ल्याउने अभियान चलिरहेको छ, जसमा आर्य समाज, बीजेपी, आरएसएस, विश्व हिन्दू परिषद्, बजरंग दल र संघ परिवारका कतिपय संगठन लागेका छन्।
भारतको जनगणना अनुसार सन् १९९१ पछि छत्तीसगढ, झारखन्ड र ओडिशाका आदिवासी क्षेत्रमा इसाईको संख्या बढेको थियो। यी क्षेत्रमा भइरहेको ‘घर फिर्ता’ अभियानको नेतृत्व बीजेपीका चिरपरिचित नेता प्रबल प्रताप सिंह जुदेवले गरिरहेका छन्, जसका बाबु दिलीप सिंह जुवेदले पनि सन् १९८५–८६ यो अभियानको सुरुआत गरेका थिए। तिनी प्रधानमन्त्री अटलविहारी वाजपेयीका मन्त्रीमन्डलका सदस्य थिए र यो अभियान अघि बढाउन मुख्य भूमिका खेलेका थिए।
बाबुको मृत्युपछि प्रबल प्रताप सिंहले सन् २०१३ मा धर्म परवर्तन गराउने अभियानलाई निरन्तरता दिए। उनी भन्छन्, ‘मैले अहिलेसम्म १५ हजार व्यक्तिलाई घर वापसी गराइसकेको छु।’
१६ फेब्रुअरीमा ब्रिम्डेगा पुग्दा त्यहाँको माहोल उत्साहपूर्ण थियो। आदिवासी सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। माटोले बनेको एउटा ठूलो घरमा कैयौँ धर्मगुरु यज्ञ गरिरहेका थिए र मन्त्र पढिरहेका थिए। साथमा बसेका गाउँका मानिस साना–साना समूहमा बाँडिएका थिए।
अन्त्यमा ती २२ व्यक्ति आइपुगे, जसको ‘घर फिर्ता’को लागि समारोह आयोजना गरिएको थियो।
प्रबल प्रताप सिंहले गंगाजलबाट ती सबै २२ जनाका गोडा एक–एक गरी धोइदिए। उनका बाबुले पनि त्यसैगरी गोडा धोइदिएर ‘घर फिर्ता’ गराउने गरेका थिए। आफूले यो अभियानलाई निरन्तरता दिए पनि अघि बढाउन सबै हिन्दूको जिम्मेवारी भएको उनले बताए। नेपाललाई नगन्दा अब भारत एक मात्र हिन्दू राष्ट्र भएको उनले बताए। ‘यो अभियान कुनै खास पार्टी या संगठनका अजेन्डा हुनु हुँदैन। नेपाललाई छाडेर अब भारत एक मात्र हिन्दू राष्ट्र बचेको छ। तर, हामी सक्रिय भएनौँ भने हाम्रो प्राचीन संस्कृतिलाई बचाउनका लागि हाम्रो हिन्दू राष्ट्र बच्ने छैन। सबै परिवर्तन हुने छन्,’ उनले भने।
यहाँ जानकारी दिन आवश्यक छ कि, धर्मान्तरणको आरोप लागिरहे पनि भारत स्वतन्त्र भएदेखि यता हिन्दूको जनघनत्व ८० प्रतिशत छ। जबकि २.३० प्रतिशत इशाई छन्। तर, हिन्दू समाजमा एउटा यस्तो वर्ग छ, जो आफैं असुरक्षित महसुस गर्छ। ब्रिम्डेगामा तीन घन्टासम्म चलेको उक्त समारोहमा सामेल हुने कतिपय व्यक्तिले मलाई भने कि, घर फिर्ता कार्यक्रम हिन्दू जागरणको नतीजा हो र यो हिन्दू राष्ट्र बनाउनका लागि महत्त्वपूर्ण छ।
धर्मान्तरणको गढ
आदिवासीको घना बस्ती भएको ब्रिम्डेगा ‘घर फिर्ता कार्यक्रम’को मात्र नभएर धर्मान्तरणको पनि एउटा गढ मानिन्छ। प्रबल प्रताप सिंह भन्छन्, ‘जशपुरमा एकदम धेरै धर्मान्तरण भइरहेको छ। जशपुर एउटा आदिवासी र पिछडिएको क्षेत्र हो, यहाँ षडयन्त्रकारी शक्ति बढी काम गरिरहेको छ। सीमामा झारखन्ड छ। उता पनि धेरै नै धर्म परिवर्तन गराइन्छ। अत्यधिक धेरै हिन्दूले धर्म परिवर्तन गरेका छन्।’
इसाई प्राथना सभाहरूमा आक्रमण यति बढेको छ कि यस्ता सभा अब खुलास्थान वा चर्चमा कम हुन थालेको छ। यस्ता प्रार्थना अब घरभित्रै हुन थालेका छन्।
इसाई धर्म अपनाउनेहरू र त्यसका लागि प्रचार गर्नेहरूमाथि अत्याचारका समाचार पनि यहीँबाट सबैभन्दा बढी आउँछन्। तर, भारतमा यो एउटा मात्र यस्तो क्षेत्र भने होइन। उत्तर प्रदेशको पूर्वीक्षेत्रमा सक्रिय इसाईहरू भन्छन् कि दक्षिणपन्थी हिन्दू संस्थाहरू उनहरूको प्राथना हिंसाको भरमा रोक्ने कोसिस गर्छन्, तर यसका बावजुद पुलिस इसाईलाई नै पक्राउ गर्छ। इसाई प्राथना सभाहरूमा आक्रमण यति बढेको छ कि यस्ता सभा अब खुलास्थान वा चर्चमा कम हुन थालेको छ। यस्ता प्रार्थना अब घरभित्रै हुन थालेका छन्।
भारतभरिका लागि धर्मान्तरण विरोधी कुनै कानुन छैन। तर, आठ राज्यले आफ्नो छुट्टै कानुन बनाएर धर्मान्तरणमा रोक लगाएका छन्। बीजेपीले भने यस्तै किसिमको राष्ट्रिय कानुन जरुरी रहेको बताइसकेको छ।
पछिल्लो वर्ष उत्तर प्रदेशले धर्मान्तरण विरोधी कानुन पारित गरेको थियो। मध्य प्रदेशले पनि आफ्नो सन् १९६८ को कानुनमा संशोधन गरेको थियो। कर्नाटकमा विधानसभाले धर्मान्तरण विरोधी विधेयक पारित गरेको छ, तर विधान परिषदबाट पारित हुन बाँकी छ।
धर्मान्तरणको कानुनको ‘मार’मा धेरै इसाई अनाहकमै पर्ने गरेका छन्।
बनारस शहरको एक सडकमा इसाई धर्मावलम्बीको बस्ती छ। हामी त्यहाँको एक घरभित्र जाँदा प्रार्थना चलिरहेको थियो। पादरी अब्राहम र उनकी पत्नी पादरी प्रतिभा त्यहाँ उपस्थित पुरुष, महिला र बालबालिकालाई ठूलो स्वरमा बजाइएको गीतसँगै प्रार्थना गराइरहेका थिए। पादरी अब्राहम र उनकी पत्नीलाई देखेर यस्तो लागिरहेको थिएन कि, उनी हालै मात्र जेलबाट रिहा भएर आएका छन्।
उनकी पत्नी तथा पादरी प्रतिभाका अनुसार अघिल्लो नोभेम्बरमा उनीहरू घरमा नै प्रार्थना गरिरहेका थिए। केही ‘मसीहा विरोधी व्यक्ति’ आए र उनीहरूले गरेको प्रार्थना रेकर्ड गरे। अनि उनीहरूले पुलिसलाई ‘धर्मान्तरण गराएको’ उजुरी गरे। त्यसपछि पुलिसले थानामा बोलायो र श्रीमान्, श्रीमतीसहित सात जनालाई जेलमा हालिदियो। जमानतमा छुटेपछि अहिले उनीहरू सतर्क भएर घरभित्रै मात्र प्राथना गर्छन्।
मान्छेहरू किन इसाई धर्म अपनाइरहेछन्?
बनारसका राजेश कुमार आफ्ना केही इसाई साथीहरूका साथ प्रार्थना सभामा सहभागी थिए। उनले भने, ‘केही स्थानीय हिन्दू केटाहरू पुलिसको साथमा आए र भने कि हामी जबर्जस्ती धर्मान्तरण गराइरहेका छौँ।’ प्रहरीले हामीलाई थानामा लिएर गए र गिरफ्तार गरे। ‘१५–१६ जना केटाहरूले उजुरी दिएका थिए। हामीलाई बारम्बार सताइन्छ, तर हामी प्रभुको प्रचार गर्न छाड्दैनौँ,’ उनले भने।

राजेश कुनै बेला हिन्दू थिए, तर इसाई धर्ममा सामेल भएको वर्षौं भइसकेको छ। उनका अनुसार १६ वर्षअघि उनकी बहिनी ब्लड क्यान्सरबाट पीडित थिइन्। जब उनले बाइबल पढ्न थाले, बहिनी ठीक भइन्। यही चमत्कारले आफू इसाई भएको उनी बताउँछन्। ‘म कैयौँ इसाईहरूसँग मिलेको छु, जो यही वर्ष पनि चमत्कारका कारण जीवन पाए र आफ्नो धर्म परिवर्तन गरे,’ उनी भन्छन्।
शिवसेनाका एक स्थानीय युवा नेता प्रमोद सोनकरका अनुसार पहिले उनी इसाईहरूको प्राथना सभालाई बिथोल्न हिँड्थे। त्यति बेला उनी इसाईहरूलाई कुटपिट पनि गर्थे। तर, सन् २०१४ मा आफैं इसाई भए। उनलाई विश्वास छ कि उनी एक अस्पतालको आईसीयूमा दुई घन्टासम्म मरेका थिए। त्यति बेला इसाई धर्मले उनलाई जीवन दान दियो। उनी भन्छन्, ‘मेरा दुवै मिर्गौलामा पत्थर थियो। मेरी बहिनीले इसाई प्राथना सभामा जान र चंगाई नमिले फेरि हिन्दू हुन भनिन्। मेरो अपरेशन भएपछि मलाई आईसीयूमा मृत घोषणा गरेका थिए। तर, मेरा शिव सेनाका र इसाई साथीले दुई घन्टासम्म प्राथना गरेपछि म बाचेँ।’
उनी अहिले आफैं पादरी भएका छन्। इसाई धर्म फैलाउन जोडतोडले लागेका छन्।
विश्वभरि नै दैवी शक्तिका कारण रोगको उपचार भएको दाबी गरिने गरिएको छ। तर, अहिलेसम्म वैज्ञानिक आधार फेला परेको छैन। निर्भ सिंहका अनुसार इसाई धर्मका प्रचारकहरू सोझासाधा हिन्दूलाई यस्तै अन्धविश्वासका प्रयोग गरेर इसाई बनाउने गर्छन्। इसाई मिसनरी भने यस्ता आरोप गलत भएको बताउँछ।
मन्दिरको शहरमा धर्मान्तरण र हिंस्रक विरोध
बनारस मन्दिरहरूको शहर मात्र नभई हिन्दूहरूको एक प्राचीन तीर्थस्थल पनि हो। यहाँ र उत्तर प्रदेशका अन्य शहरमा पनि इसाई धर्म प्रचारक निकै धेरै सक्रिय छन्। पछिल्लो दुई वर्षमा मैले यी क्षेत्रका कतिपय गाउँको भ्रमण गर्दा इसाई धर्मको प्रभाव बढिरहेको देखेको छु।
आफ्नो विवाहपछि पास्टर प्रतिभा राँचीबाट मऊ बसाइँ सरेकी थिइन्। त्यहाँ सर्नुको एक मात्र उद्देश्य धर्म प्रचार गर्नु थियो। उनी भन्छिन्, ‘ईशा मसिहका नाम कोही पनि जान्दैन थिए। तर, आज मऊमा प्रभुको अनुकम्पा यति धेरै भयो कि, एकदम धेरै मानिस क्रिश्चियन धर्ममा लागेका छन्।’
धर्मान्तरण रोक्नका लागि दक्षिणपन्थी हिन्दू संस्थाहरू जोड–तोडले यस्तो कामको विरोध गरिरहेका छन्। विरोधको शैली प्रायः हिंस्रक हुने गरेका छन्। बनारसको ‘हिन्दू युवा शक्ति’ यस्तै एक संस्था हो, जसको उद्देश्य धर्मान्तरण रोक्ने र देशलाई हिन्दू एकतामा लैजाने रहेको छ।
धर्मान्तरण रोक्नका लागि दक्षिणपन्थी हिन्दू संस्थाहरू जोड–तोडले यस्तो कामको विरोध गरिरहेका छन्। विरोधको शैली प्रायः हिंस्रक हुने गरेका छन्। बनारसको ‘हिन्दू युवा शक्ति’ यस्तै एक संस्था हो, जसको उद्देश्य धर्मान्तरण रोक्ने र देशलाई हिन्दू एकतामा लैजाने रहेको छ। लाखभन्दा बढी सदस्य भएको यो संस्थाका अध्यक्ष निर्भय सिंहका अनुसार उनी धर्मान्तरण रोक्ने अभियानमा ५०औँ पटक जेल गइसकेका छन्।
कोही हिन्दू आफ्नो इच्छाअनुसार इसाई हुन्छ भने आफूलाई दुःख लागे पनि आपत्ति नभएको उनी बताउँछन्। तर, इसाई प्रचारक रोजगारी र पैसाको प्रलोभन देखाएर सिधासाधा हिन्दूलाई धर्म परिवर्तन गराईरहेको उनको दाबी छ। कतिपयलाई रोग निको हुने ‘झूटो चमत्कार’ अपनाएर पनि इसाई बनाइएको उनी बताउँछन्। यसलाई रोक्न आफूहरूले बल प्रयोग समेत गर्ने गरेको उनी स्वीकार गर्छन्। ‘पहिला हामी हात जोडेर सम्झाउछौँ, जरुरी पर्यो भने हात खोलेर पनि सम्झाउछौँ,’ उनी भन्छन्, ‘हाम्रो लागि हाम्रो धर्मभन्दा ठूलो केही पनि हुन सक्दैन।’
उनको समूहले केही दिन पहिला पनि एक चर्चमा हमला गरेको थियो। उक्त चर्चमा जानेहरूलाई पैसाको लोभ देखाइएको कारण त्यसलाई तोड्ने कोसिस गरेको निर्भय बताउँछन्। त्यहाँको प्रार्थना सभा भंग गरेकोमा आफूहरूलाई कुनै पछुतो नभएको उनले बताए।
तर, हिन्दू संगठनहरूले दाबी गरेजस्तो पैसाको लोभमा चर्चले इसाई धर्ममा लगाएको कुनै प्रमाण भने छैन। बरु इसाई मिसनरीहरू हिन्दू संगठनले स्वच्छेले हुने धर्म परिवर्तनलाई पनि रोकेको आरोप लगाउँछन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा स्थापित हिन्दू युवा वाहिनी पनि धर्मान्तरणको विरोधमा राज्यभर काम गरिरहेको छ।
धर्मान्तरण कानुनलाई चुनौती
बल प्रयोग गरेर वा प्रलोभन देखाएर धर्म परिवर्तन गर्न रोक लगाउन उत्तर प्रदेश र मध्यप्रदेश जस्ता राज्यमा बीजेपी सरकारले धर्मान्तरण विरोधी कानुन लागू गरेको छ। कर्नाटकमा यसका लागि एक अधिनियम लगाइएको छ। यी कानुनअनुसार दोषीलाई वर्षौं कैदको सजाय हुनसक्छ। तर, यसको आडमा इसाईहरूलाई प्रताडित गर्ने गरिएको आरोप पनि लाग्ने गरेको छ।
उत्तर प्रदेशमा यो कानुन गत वर्षको सेप्टेम्बरमा लगाइएको थियो, जसअन्तर्गत अहिलेसम्म ३५ जनाभन्दा बढी इसाई धर्म प्रचारकलाई गिरफ्तार गरिसकिएको छ। प्रहरीले नयाँ कानुनअनुसार इसाई प्रचारकहरूलाई सामूहिक रूपमै पनि मुद्दा चलाइरहेको छ।
यो नयाँ कानुन इलाहबाद उच्च अदालतमा चुनौती दिइएको छ। मध्यप्रदेशमा पनि पछिल्लो वर्ष यस्तै कानुन पारित गरिएको थियो, जसलाई सर्वोच्च अदालतमा चुनौती दिइएको छ। यी दुवै मुद्दामा इलाहबादका शाश्वत आनन्द वकिल छन्। उनी भन्छन्, ‘एक सभ्य देशमा यस्तो हुन सक्दैन। हाम्रो संविधानको धारा २५ मा धर्म मान्ने र प्रचार गर्ने अधिकार छ, तथा धारा २१ मा व्यक्तिगत स्वतन्त्रताका अधिकार पनि छ। धारा १९ मा बोल्ने स्वतन्त्रता र धारा १४ मा समान अधिकार र समान सुरक्षाका प्रावधान छन्। यी कानुनले माथिका सबै अधिकारमा नोक्सान पुर्याएका छन्।’
धर्मान्तरण कानुन बनाउन कांग्रेसकै सरकारका पालमा सुरु भएको थियो। विशेष गरी जनजाति र आदिवासीको घना बस्ती भएको राज्यमा धर्म परिवर्तन विरोधी कानुन पारित गरिएका थिए। सन् १९६७ मा ओडिशामा धर्म परिवर्तनको विरुद्ध पहिलो पटक कानुन बनाइएको थियो। मध्यप्रदेशमा सन् १९६८, अरुणाचलमा १९७८ र २००२ मा तमिलनाडुमा यस्तो कानुन बनाइएको हो।
धर्म परिवर्तनविरुद्ध कानुन बनाउने नयाँ दौड भने प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल सुरु भएपछि थालिएको हो। उत्तराखन्ड र हिमाचल प्रदेशमा बनाइएको नयाँ कानुनमा विवाहका लागि धर्म परिवर्तन गरिएको भए पनि अनिवार्य रूपमा सूचित गर्नुपर्ने प्रावधान छ।
-बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।