काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा लगातार दुई कार्यकाल सरकार चलाइरहेको आम आद्मी पार्टी (आप) पञ्जावमा विस्तार भएको छ।
पञ्जाव विधानसभाको जारी मतगणनामा आपले दुई तिहाइ भन्दा बढी सिटमा अग्रता लिइरहेको छ।
सन् २०१७ को निर्वाचनमा जम्मा २२ सिट जितेको आपले यसपल्ट सयको हाराहारीमा जित्ने संकेत देखाएको छ। प्रारम्भिक मत गणनामा ९० सिटमा आपको अग्रता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सन् २०१७ मा ७७ सिटसहित सरकार बनाएको भारतीय कांग्रेस भने यसपल्ट नराम्ररी पछारिएको छ। कांग्रेसले जम्मा १३ सिटमा अग्रता लिइरहेको छ।
केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपाको गठबन्धन एनडिए जम्मा ५ सिटमा अगाडि छ। पञ्जावमा आपले जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छनोट गरेको थियो।
‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् राय मागेको थियो। ९३ प्रतिशतले भागवान्त मनलाई मुख्यमन्त्री बनाउनुपर्ने मत प्रकट गरेका थिए। अभियानमा २२ लाखको हाराहारीमा जनता सहभागी थिए।
सन् २०१४ देखि लोकसभा सदस्य रहेका उनी २०१९ मा पञ्जाबबाट लोकसभा चुनाव जित्ने एक मात्र आप उम्मेदवार हुन्।
पञ्जावमा आपको उदयसँगै भाजपा र भारतीय कांग्रेसको विकल्पका रुपमा आप अघि बढ्न थालेको विश्लेषण भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।