काठमाडौं– भारतको उत्तर प्रदेश, पञ्जावलगायत पाँच प्रदेशको विधान सभाको निर्वाचनको मतगणना बिहीबार (आज) बाट सुरु हुँदैछ। नेपाली समय अनुसार बिहान ८ः१५देखि उत्तर प्रदेश, गोवा, मणिपुर,पञ्जाव र उत्तराखण्डमा मतगणना सुरु हुँदै छ।
मतगणनाअघि विभिन्न संस्था तथा सञ्चारमाध्यमका एक्जिट पोलले उत्तर प्रदेशमा पुनः भारतीय जनता पार्टी (बीजेपी) दोहोरिने देखिएको छ भने पञ्जाबमा आम आदमी पार्टीले सरकार बनाउन सक्ने सम्भावना बलियो छ।
अधिकांश एक्जिट पोलले उत्तर प्रदेशमा विजेपीले ४०३ मा २२० भन्दा बढी ल्याउने नतिजा सार्वजनिक गरेका छन्। त्यहीँ समाजवादी पार्टी (सपा) बढीमा १५० सिटमा समेटिने देखिन्छ। भारतीय कांग्रेस भने १० सिटभन्दा तल झर्ने देखिन्छ। उत्तर प्रदेशमा विजेपीले योगी आदित्यनाथलाई फेरि मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।
यसैगरी पञ्जाबका ११७ सिटमा आम आदमी पार्टी (आप)ले यसपटक बहुमत ल्याउने एक्जिट पोलले देखाइरहेका छन्। दिल्लीमा दुई कार्यकाल निरन्तर जितिरहेको आपले पहिलोपल्ट पञ्जाबमा पकड जमाउने देखिएको हो।
पञ्जाबमा आपले ६५ देखि ८० सिट जित्ने एक्जिट पोलमा देखिएको छ। पञ्जाबमा बीजेपी चौथो दल हुने अवस्था छ। विजेपीले १० नकटाउने एक्जिट पोलमा देखिएको छ। आपलाई कांग्रेस र अकाली दलले चुनौती दिनेछन्।
कांग्रेस २५ देखिन ३५ सिटमा समेटिने देखिएको छ भने अकाली दलले बढीमा २५ सिट ल्याउने देखिएको छ। आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छनोट गरेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् राय मागेको थियो। ९३ प्रतिशतले भागवान्त मनलाई मुख्यमन्त्री बनाउनुपर्ने मत प्रकट गरेका थिए। अभियानमा २२ लाखको हाराहारीमा जनता सहभागी थिए।
सन् २०१४ देखि लोकसभा सदस्य रहेका उनी २०१९ मा पञ्जाबबाट लोकसभा चुनाव जित्ने एक मात्र आप उम्मेदवार हुन्। यसैगरी गोवामा भने बीजेपी र कांग्रेसको प्रतिष्पर्धा देखिएको छ। जम्मा ४० सिटमा उनीहरुले विजेपीले १६ देखि १८ र कांग्रेसले पनि त्यही हाराहारीमा ल्याउने अनुमान छ। दुवैले बहुमत नल्याउने भएकाले सरकारले लागि तृणमुल कांग्रेसलगायतका दलको भर पर्नुपर्नेछ।
यसैगरी मणिपुर र उत्तराखण्डमा ठूलो दल बीजेपी भए पनि स्पष्ट बहुमत ल्याउने अनुमान छ। उत्तराखण्डमा कांग्रेसले बीजेपीलाई नजिकबाट चुनौती दिनेछ भने मणिपुरमा सम्भावना कम छ। आपले मणिपुरमा यसपटक खाता खोल्न सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।