फाइल तस्बिर
काठमाडौं- रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन्। यस एकदिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ। मस्कोले बुधबार बिहान ९ः०० देखि बिहीबार बिहान ९ः०० बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ। जसमा किएभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरु रहेका छन्।
यता, युक्रेनले ६ वटा मार्गबाट सर्वसाधारणलाई अन्यत्र पठाउन प्रयास गरिने बताएको छ। युक्रेनकी उपप्रधानमन्त्रीका अनुसार त्यसरी उद्धारको प्रयास गरिने सहरहरूमा रुसी सेनाको घेराबन्दीमा परेको मारऊपोल पनि छ।
मंगलबार युक्रेनले धेरै सर्वसाधारणलाई संघर्ष भएका ठाउँबाट अन्यत्र निकालेको थियो। रुसी आक्रमणको निसानामा परेको उत्तरपूर्वी सहर सुमी सहरबाट अनुमानित ५,००० सर्वसाधारणलाई मध्य युक्रेनको पोल्ताभातिर पठाइएको छ।
किएभस्थित अधिकारीहरूले यसअघि मस्कोलाई दक्षिणी सहर मारिऊपोलबाट निस्किने प्रयास गरिरहेका नागरिकलाई लक्षित गरेर बाटोमा गोलाबारी गरेको आरोप लगाएका थिए। ती ६ वटा प्रस्तावित मार्ग सञ्चालन हुने कुरा अझै प्रष्ट भइसकेको छैन।
यसअघि रुस वा उसको साझेदार बेलारुसतर्फ जाने बाटोको प्रस्तावलाई युक्रेन सरकारले अस्वीकार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।