काठमाडौं- रुस र युक्रेनका प्रतिनिधिहरुबीच तेस्रो चरणको वार्ता बेलारुसमा सुरु भएको छ। यसअघि दुई पक्षबीच भएको दुई चरणको वार्ता असफल भएको थियो।
वार्ताको केन्द्रबिन्दुमा मानवीय करिडोरको मुद्दा फेरि एकपटक उठ्ने बुझिएको छ। यो करिडोरमार्फत् रुसी बम आक्रमणबाट प्रभावित क्षेत्रबाट मानिसहरु सुरक्षित रुपमा बाहिर निस्कन सक्नेछन् ।
वार्ता सुरु हुनुभन्दा केही मिनेट अघि युक्रेनी प्रतिनिधि मिखाइलो पोडोलेकले रुसलाई नागरिकमाथि आक्रमण गर्न बन्द गर्न अपील गरेका थिए।
युद्धग्रस्त युक्रेनबाट हालसम्म १७ लाख मानिस पलायन भएका छन्। सोमबार युक्रेनमा रुसको आक्रमणको १२ औं दिन हो।
युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रका सहरी केन्द्रहरूमा रुसको भारी बमबारी जारी छ। यसअघि शनिबार युद्धविराम तोडिएपछि मानवीय करिडोर निर्माणको प्रयास असफल भएको थियो।
युक्रेनले आइतबार राति रुसको मानवीय कोरिडोर निर्माण गर्ने नयाँ प्रस्तावलाई 'अस्वीकार' गरेको छ। युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले किएभका जनतालाई रुसको सहयोगी बेलारुस जान सुरक्षित कोरिडोर दिइने बताइन् भने खार्किभका जनताले रुस जानको लागि करिडोर पाउने बताइन् ।
करिडोर दिने कुरा भइरहेका चार सहरमध्ये तुलनात्मक रूपमा साना सहर मारिउपोल र सुमी मानिसलाई मात्रै युक्रेनका अन्य भागमा जाने बाटो दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।