काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग टर्कीमा भेट्ने भएका छन्।
टर्कीका विदेशमन्त्री मेभलुत चाभुसभलुले रुस र युक्रेनका विदेशमन्त्रीहरुको भेटवार्ता मार्च १० (बिहीबार) टर्कीको एन्टाल्यामा हुने जानकारी दिएका हुन्।
‘हाम्रा राष्ट्रपतिको पहल र हाम्रो कूटनीतिक प्रयासका कारण रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र युक्रेनका विदेश मन्त्री दिमित्रोय कुलेबा एनटाल्या कूटनीति फोरमको छेउमा भेट्न सहमत भएका छन्। म पनि यसमा सहभागी हुनेछु। आशा छ यो पहलले शान्ति र स्थिरता ल्याउनेछ।’
रुसले युक्रेनमा गरेको आक्रमणपछि टर्कीले धेरै पटक यी दुईबीच मध्यस्थता गर्ने इच्छा व्यक्त गरेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि रुस र युक्रेनका राष्ट्रपतिहरुलाई फोनमार्फत् युद्ध अन्त्य गर्न अपील गरेका छन् ।
टर्की नेटोको सदस्य राष्ट्र हो। टर्की युक्रेनको सहयोगी पनि हो। टर्की आयातका लागि रूसमा धेरै निर्भर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।