काठमाडौं– नेपालमा ओखर वर्षमा एक अर्ब भन्दा बढीको आयात हुने गरेको छ। नेपालमा उत्पादन हुने ओखर साह्रो र चीनबाट आयात हुने ओखर फुटाउन सजिलो र स्वादिलो हुने भएपछि यसको आयात बढ्दै गएको भन्सार विभागले जनाएको छ।
अन्य बेलाभन्दा तिहारमा ओखरको आयात बढेको देखिन्छ। पछिल्लो समय दन्ते ओखरको व्यापार बढेको छ। ओखरको व्यापार बाह्रै महिना हुने भएपनि तिहारमा माग अत्यधिक हुने भएकाले आयात बढेको भन्सार विभागको भनाइ छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४६ करोड ९७ लाख ७० हजार रुपैंयाको ओखर आयात भएको छ। चिलीबाट ३ करोड ३१ लाख ८२ हजार, चीनबाट ४१ करोड ३० लाख ९४ हजार, भारतबाट १२ लाख ३८ हजार, अमेरिकाबाट एक करोड २८ लाख ८१ हजारको ओखर आयात भएको छ।
गत आर्थिक वर्षमा एक अर्ब पाँच करोड ९७ लाख दुई हजार रुपैयाँको ओखर आयात भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा ७७ करोड ४४ लाख ८३ हजारको ओखर आयात भएको थियो। नेपालमा चीनबाहेक पाकिस्तान, चिली, युएई, अमेरिका र भारतबाट पनि ओखर आयात हुने गरेको छ।
सबैभन्दा बढी चीनबाट आयात
नेपालमा सबैभन्दा बढी ओखर चीनबाट आयात हुने गर्छ। चीनबाट छोडाएको ओखर र नछोडाएको ओखर गरी दुई प्रकारको ओखर आयात हुँदै आएको छ।
आर्थिक वर्ष २०७६/७७ मा ३२ करोड १५ लाख ४९ हजार, आर्थिक वर्ष २०७७/७८ मा ६२ करोड ९७ लाख ७२ हजार, चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ४१ करोड ३० लाख ९४ हजारको ओखर आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।