काठमाडौं– पासाङल्हामु राजमार्ग निर्माणमा भएको ढिलासुस्ती र लापरवाहीविरुद्ध स्थानीय नै आन्दोलित बनेपछि काठमाडौं उपत्यका फेरि फोहोरले दुर्गन्धित बन्न थालेको छ। आन्दोलनका कारण सिसडोल ल्याण्डफिल साइटमा फोहोर पुर्याउन नसकिएकाले उपत्यकाभित्रको फोहोर उठन सकेको छैन। राजमार्ग निर्माणमा भएको मनपरीले समयमै काम हुन नसक्दा त्यस क्षेत्रका बासिन्दा फागुन १ गतेदेखि आन्दोलित छन्।
काठमाडौंमा गत आइतबारयता फोहोर उठ्न सकेको छैन। उपत्यकाका धेरै ठाउँमा फोहोर थुप्रिएपछि पैदल हिँड्ने यात्रु र सार्वजनिक सवारीमा हिँड्ने यात्रु सबैमाथि सास्ती थपिएको छ। चोक, बाटा र गल्ली सबै दुर्गन्धित बनेका छन्। काठमाडौँ उपत्यकाभित्रको फोहोर लगेर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल जाने सडक जीर्ण बनेकाले त्यो सडक मर्मत गर्नुपर्ने माग स्थानीयले लामो समयदेखि राख्दै आएका छन्। त्यही माग सम्बोधन नुहँदा फेरि फोहोर व्यवस्थापनमा समस्या भएको हो।
पासाङल्हामु राजमार्गको यो सडक खण्ड समयमै स्तरोन्नती नहुँदा स्थानीयमाथि ठूलो सास्ती थोपरिएको तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरी तिवारी बताउँछन्। ठेकेदारले जिम्मा लिएको काम राम्रोसँग नगर्दा सडक भद्रगोल बनेको र अहिले फोहोरसमेत छरिएकाले ट्रक गुड्ने स्थिति नै नरहेको उनले बताए। पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको र पटकपटक काठमाडौं माहानगरपालिका र अन्य नगरपालिकाहरुलाई भन्दापनि कुनै सुनुवाइ नभएपछि आन्दोलन सुरु गरिएको उनको भनाइ छ। ‘यो बाटो निमार्णमा लापरबाही र ढिलासुस्ती गरेकाले हामी बाध्य भएर आन्दोलनमा होमिएका हौं’, उनले भने।
माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावी पीडितहरुले दिएका छन्।
२०७१ सालमा शैलुङ कन्स्ट्रक्सनले सो राजमार्ग निमार्णको जिम्मा पाएको थियो। तर, त्यसपछिका ७ वर्षमा पनि सडकको यो खण्ड स्तरोन्नती हुन सकेको छैन।
अहिले काठमाडौं उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ। फागुन १ गतेदेखि फोहोर बोकेर गएका ट्रक आवतजावतमा रोक लगाइएको छ।
यसअघि काठमाडौं माहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नियमित रूपमा उपत्यकाको फोहोर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो समाधन खोज्नुपर्ने याचना गरेका थिए। अहिले आन्दोलन सुरु भएपछि काठमाडौं महानगरपालिका मात्र होइन, सिंगो उपत्यकाकै फोहोर उठ्न नसकेको काठमाडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। स्थानीयले फोहोर बोकेका गाडी उक्त सडकखण्डमा गुड्न नदिनेगरी आन्दोलन गरेकाले फोहोर उठ्न छाडेको उनले बताए।
किन बारम्बार उठ्दैन फोहोर?
काठमाडौं उपत्यकामा फोहोर नउठ्ने समस्या अहिले मात्र आएको होइन, यो समस्या पटकपटक आइरहन्छ। यस वर्ष मात्र यसअघि दुईपल्ट फोहोर फाल्न अवरोध भइसकेको छ। तर, महानगरपालिका नै यस्तो समस्या आउँदा विकल्पविहीन देखिन्छ। उपत्यकाभित्रै कुनै गल्ली, चोक, वा पुलमुनिको फोहोर हप्तौंसम्म उठ्न नसकिरहँदा महानगरपालिका भने फोहोर फाल्न मनाही छ, फोहोर फालेमा १० हजार जरिवाना आदि लेखिएका बोर्ड राख्नुमै आफ्नो जिम्मेवारी पूरा भएको ठान्छ। जबकि, तिनै बोर्डमुनि फोहोरको डंगुर जम्मा भएको हुन्छ।
जस्तो कि, जोरपाटीको ओरालो छेउमा सधैँजसो फोहोर थुप्रिएको हुन्छ। त्यो बाटो हिँडिरहने रिता गौतम जति भने पनि कहिल्यै सुनुवाइ नभएको गुनासो गर्छिन्। उनले भनिन्, ‘सँधै यसरी नै चल्दै आएको छ।’
बौद्ध, नयाँबस्तीमा रहेको जम्बु डाँडाको वरिपरि फोहोर भरिइसक्दा पनि उठ्दैन। कहिलेकाहीँ त महिना दिनसम्म पनि फोहोर नउठेपछि स्थानीयले त्यहीँ जलाइदिन्छन्। यसो गर्दा वायु प्रदुषणको जोखिम थपिने गरेको स्थानीय सविना लामा बताउँछिन्। कहिलेकाहीँ पानी पर्यो भने त जम्बु डाँडाको छेउमा रहेको बागमती खोलामा त्यो फोहोर मिसिन्छ।
काठमाडौं महानगरपालिका, वातावरण विभागका निमित्त प्रमुख सरिता राई भने कतै कतै मात्र यस्तो समस्या रहेको दाबी गर्छिन्। सिसडोल जाने बाटोमा अवरोध भएकाले मात्र अहिले यस्तो समस्या उत्पन्न भएको उनको दाबी छ। स्थानीयको आन्दोलन हटेलगत्तै उपत्यकामा थुप्रेको फोहोर व्यवस्थापन गरिने उनले बताइन्।
बिनाअवरोध फोहोर खसाल्न पाए उपत्यकाको फोहोर उठाउन धेरै समय नलाग्ने राईको दाबी छ।
१६ वर्षमा ९५ प्रतिशत काम
काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पका रुपमा हेरिएको नुवाकोट र धादिङको बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साडट निर्माणको काम सुस्त गतिमा छ। बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माण थालिएको १६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन।
२०७६ सालपछि मात्रै यो ठाउँमा शहरी विकास मन्त्रालयले ल्याण्डफिल साडट निर्माणको जिम्मा पाएको थियो। त्यसअनुसार पनि यही चैत महिनाभित्र सेल वान र सेल टुको काम सम्पन्न गरिसक्नु पर्ने छ। तर, मन्त्रालयकै भनाइमा चैतमा यो काम सकिने सम्भावना नै छैन।
अहिले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगै १८ वटा नगरपालिकाले सिसडोलमा फोहोर फाल्दै आएका छन्। सिसडोल भरिएपछि बञ्चरेडाँमा फोहोर फाल्न १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको शहरी विकास मन्त्रालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए।
बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण भएपछि उपत्यकाको फोहोर २० वर्षसम्म धान्न सक्ने क्षमता हुने उनले बताए। अहिले सेल वानको काम सम्पन्न भइसकेर फोहोर राख्न थालिएको र बाँकी सेल टु को काम भने अबको दुई/चार महिनासम्ममा सकिने उनले बताए।
यसअघि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने आवश्यक संरचना नै नबनाई फोहोर फाल्न लागिएको भन्दै स्थानीयले आपत्ति जनाएका थिए। तीन वर्षमै निर्माण सम्पन्न गर्नेगरी सरकारले पहिलोपटक २०६२ सालमा बञ्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो।
जापान सहयोग नियोग (जाइका)को दुई अर्ब १० करोड सहयोगमा ल्यान्डफिल साइट बनाउने निर्णय भएपनि वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने बेलामा तत्कालीन स्थानीय विकास मन्त्रालय र वन मन्त्रालयबीच विवाद हुँदा कामले गति लिन सकेन। २०७६ सालमा मात्र शहरी विकास मन्त्रालयलाई निर्माणको जिम्मा दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।