काठमाडौं– पछिल्लो समय कफीको उत्पादन र निर्यात दुवै घटेको छ। विश्व बजारमा अर्ग्यानिक नेपाली कफीलाई गुणस्तरीय मानिन्छ। तर, कफीको खेतीलाई प्रवर्द्धन गर्न नसक्दा उत्पादन र निर्यात ओरालो लागेको हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार पछिल्लो दुई वर्षमा कफी निर्यातभन्दा बढी आयात भएको छ। आर्थिक वर्ष २०७६/७७ मा ११ करोड ८८ लाख ४६ हजार रुपैयाँ बराबरको कफी आयात हुँदा पाँच करोड ७७ लाख २६ हजारको मात्रै निर्यात भएको थियो। त्यस्तै, गत आर्थिक वर्षमा १० करोड ६० लाख रुपैयाँ बराबरको आयात हुँदा नौ करोड ६० लाख बराबरको निर्यात भएको छ।
विगत सात वर्षको तथ्यांक अनुसार नेपालमा २८ सय हेक्टरभन्दा बढी जमिनमा कफी खेती भएको छैन। कफी उत्पादनमा नै कमी आएकाले निर्यात घटेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताए। पछिल्लो समय स्वदेशमै कफीको खपत बढेको कारण पनि निर्यात घटेको उनको भनाइ छ। ‘नेपालमा कफी पारखीको संख्या बढेसँगै आन्तरिक बजारमा खपत पनि बढेको छ,’ उनले भने, ‘यसले गर्दा निर्यात घटेको हो।’
नेपालमा हाल ४४ जिल्लामा कफी उत्पादन हुन्छ। यी जिल्लामा बोर्ड, तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरु र विभिन्न गैह्रसरकारी संस्थाहरुमार्फत कफी खेती सञ्चालन हुँदै आएको छ। तीमध्ये सिन्धुपाल्चोक, ललितपुर, इलाम, स्याङजा, पर्वत र गुल्मी पकेट क्षेत्र मानिन्छ। यिनै जिल्लामा उत्पादन हुने अर्ग्यानिक कफी जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, स्विट्जरल्यान्ड, नर्बे, अमेरिका, क्यानडालगायत एक दर्जनभन्दा बढी देशमा निर्यात हुने गरेको छ।
नेपालमा वार्षिक करिब ३० करोड रुपैयाँ बराबरको कफी उत्पादन हुन्छ। बोर्डका अनुसार यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ भने बाँकी स्वदेशमा नै उपभोग हुन्छ। आगामी आर्थिक वर्षदेखि युवालक्षित ‘कफी विस्तार कार्यक्रम’ संचालन गर्ने कार्यकारी निर्देशक डा. भट्टराईले जानकारी दिए।
बढ्दो आयात
१३ वर्षअघि नेपालमा १ करोड रुपैयाँ बराबरको कफी आयात हुँदा १२ करोड बराबरको निर्यात भएको थियो। तर, त्यसपछि आयात क्रमशः उकालो लाग्दै गएको बोर्डको तथ्यांकले देखाउँछ। नेपालमा एकै वर्ष सबैभन्दा बढी १० करोड ६७ लाख रुपैयाँ बराबरसम्मको कफी आयात भएको छ। गत आर्थिक वर्ष पनि साढे १० करोडभन्दा बढीको कफी आयात भएको थियो।
आउने आर्थिक वर्षदेखि कफीको उत्पादनसँगै निर्यात बढाउने लक्ष्य रहेको बोर्डका प्रवक्ता डा. दीपक खनालले बताए। ‘शहरीकरण र अन्य विभिन्न कारणले कफी पिउनेको संख्या हरेक वर्ष बढ्दै गएको छ,’ उनले भने, ‘तर, आफैँले उत्पादन गरेको कफी पिउने बानी नहुँदा कफीको आयात बढेको हो। अब उत्पादन र निर्यात दुवै बढाउने गरी काम गर्ने योजना छ।’
सन् १९९० मा गुल्मीको आँपचौरबाट कफीको व्यवसायिक खेती थालनी भएको हो। त्यहाँ अर्ग्यानिक कफी उत्पादन भएकोले विदेशीहरुले मन पराए। त्यसपछि माग बढ्दै गयो। अहिले पनि नेपाली अर्ग्यानिक कफीको माग नघटेको बोर्डको दाबी छ। पर्याप्त उत्पादन नहुँदा र स्वदेशमै खपत हुँदा निर्यात घटेको बोर्डले जनाएको छ।
तर, निर्यात मात्र घटेको नभइ यहाँ उत्पादन हुने कफीभन्दा भारतीय कफी सस्तो पर्ने हुँदा आयात बढेको छ। नेपालमा आउनेमध्ये भारतीय कफी अत्यधिक छ।
आर्थिक वर्ष | आयात (रुपैयाँमा) | निर्यात (रुपैयाँमा) |
२०६४/०६५ | ३ लाख ३५ हजार | २ करोड २१ लाख ७५ हजार |
२०६५/०६६ | १ करोड १६ लाख ५१ हजार | १२ करोड ५१ लाख ८ हजार |
२०६६/०६७ | १ करोड ३८ लाख ६१ हजार | २ करोड ४३ लाख ६३ हजार |
२०६७/०६८ | १ करोड २५ लाख १३ हजार | ९ करोड ३० लाख ८९ हजार |
२०६८/०६९ | २ करोड ९ लाख ६ हजार | ४ करोड ३० लाख ९५ हजार |
२०६९/०७० | ३ करोड १७ लाख २८ हजार | ४ करोड ५६ लाख ७६ हजार |
२०७०/०७१ | ३ करोड ५९ लाख २१ हजार | ५ करोड २२ लाख ७ हजार |
२०७१/०७२ | ५ करोड ४७ लाख ४८ हजार | ९ करोड ९१ लाख ७६ हजार |
२०७२/०७३ | ५ करोड ५६ लाख ४१ हजार | १० करोड ७९ लाख १ हजार |
२०७३/०७४ | ५ करोड ४ लाख १ हजार | ८ करोड ४५ लाख ४३ हजार |
२०७४/०७५ | ६ करोड ५८ लाख ९३ हजार | ९ करोड ६७ लाख २२ हजार |
२०७५/०७६ | ९ करोड ८० लाख १४ हजार | ९ करोड ९७ लाख ३ हजार |
२०७६/०७७ | ११ करोड ८८ लाख ४६ हजार | ५ करोड ७७ लाख २६ हजार |
२०७७/०७८ | १० करोड ६७ लाख | ९ करोड ६० लाख |
बढेन उत्पादन
बोर्डको अध्ययनले नेपालमा वार्षिक करिब ११ लाख हेक्टर जमिनमा कफी उत्पादन हुन सक्ने देखाएको छ। तर, हाल करिब २८ सय हेक्टरमा मात्रै उत्पादन हुँदै आएको छ। लगभग तीन हजार कृषक खेतीमा संलग्न छन्।
आर्थिक वर्ष २०७०/७१ मा एक हजार ९११ हेक्टर जमिनमा ४२९ मेट्रिक टन कफी उत्पादन गरिएको थियो। आर्थिक वर्ष २०७१/७२ मा २ हजार ३८१ हेक्टरमा ४६३ मेट्रिक टन, २०७२/७३ मा २ हजार ६१८ हेक्टरमा ४३४ मेट्रिक टन र २०७४/७५ मा २ हजार ६४६ हेक्टरमा ४४६ मेट्रिक टन कफी उत्पादन गरिएको थियो।
त्यसैगरी आर्थिक वर्ष २०७५/७६ मा २ हजार ६५० हेक्टरमा ५१३ मेट्रिक टन, २०७६/७७ मा २ हजार ७६१ हेक्टरमा ५३० मेट्रिक टन र आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३६० हेक्टरमा २९६ मेट्रिक टन कफी उत्पादन गरिएको थियो।
कफीको न्यूनतम मुल्य कति?
कफीको मूल्य राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नै निर्धारण गर्ने गरेको छ। जसअनुसार यो वर्ष ताजा चेरी ‘ए’ कफीको प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। गत वर्ष पनि यो कफीको मुल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो। ग्रेड ‘बी’ को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ।
ताजा चेरीबाट उत्पादन भएको पार्चमेन्ट ग्रेड ‘ए’ कच्चा कफीको मुल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड ‘बी’को ३९७ रुपैयाँ निर्धारण गरिएको छ। ११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट गे्रड ‘ए’ कफी भनिन्छ।
ड्राईचेरी ग्रेड ‘ए’ कच्चा कफीको मुल्य प्रतिकेजी १४८ रुपैयाँ तोकिएको छ। त्यसैगरी ग्रेड ‘बी’को मुल्य प्रतिकेजी ९५ रुपैयाँ निर्धारण भएको छ। ताजा चेरीबाट उत्पादन भएको ड्राई कफीलाई ‘ए’ ग्रेड भनिन्छ।
यी कफीको मुल्य गत वर्ष नै कायम गरिएको हो। यो वर्ष त्यही मुल्यलाई यथावत् राखिएको छ। गत वर्ष नै लागतमा २० प्रतिशत मुनाफा राखेर मुल्य घोषणा गरेका कारण यस वर्ष मुल्य नबढाइएको बोेर्डले जनाएको छ।
प्रांगारिक पद्दति अपनाएर उत्पादन गरिएको, पानीमा राख्दा डुब्ने, ठिक्क पाकेको केलाएर छानिएको कफीलाई ‘ए’ ग्रेड भनिन्छ। ‘ए’ ग्रेडमा नपरेको कफी ‘बी’ ग्रेडको हो। नेपालमा सबैभन्दा महंगो कफी पार्चमेन्ट हो। सबैभन्दा सस्तो चाहिँ ताजा चेरी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।