काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ।
शनिबारका लागि पूर्व निर्धारित बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार कोरोना महामारीको कारण अहिलेलाई केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो।
अर्को निर्णय नहुँदासम्म अहिले तत्काललाई केन्द्रीय समिति बैठक नबस्ने निर्णय भएको ढकालको भनाइ छ।
केन्द्रीय समितिको बैठक स्थगित भए पनि निवर्तमान स्थायी समिति सदस्य र विभिन्न आयोगका अध्यक्ष सम्मेलिन केन्द्रीय कार्यालयको बैठक बस्ने तयारी भएको ढकालले जानकारी दिए। 'पार्टीका निवर्तमान स्थायी समिति सदस्य र विभिन्न आयोगका अध्यक्षसमेत सहभागी भएर स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै शनिबार ९ बजे छुट्टै पार्टी कार्यालय बैठक भने बस्ने छ,' ढकालले भने।
केन्द्रीय कार्यालयको बैठकमा स्थानीय तहको निर्वाचन लगायत पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीको महाधिवेशनपछि पदाधिकारी चयन लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।