जिल्ला प्रशासन कार्यालय काठमाडौं, फाइल तस्बिर
काठमाडौं– कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा रहेका सबै सार्वजनिक तथा सरकारी निकाय (कार्यालय)हरुमा आलोपालो प्रणाली लागू गरिने भएको छ।
उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकपछि जारी गरिएको निषेधको नयाँ आदेशमा सबै सार्वजनिक र सरकारी कार्यालयमा आलोपालोमा सेवाप्रवाहको प्रवन्ध गर्नुपर्ने भनिएको छ। नयाँ आदेश शुक्रबार राति १२ बजेपछि (शनिबार)देखि लागू हुने छ।
सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयमा कर्मचारीहरुलाई आलोपालोअनुसार कार्यालयमा हाजिर हुने व्यवस्था मिलाउने आदेशमा भनिएको छ।
यसअघि पहिलो र दोस्रो चरणको कोरोना महामारीका बेला पनि सार्वजनिक र सरकारी कार्यालयहरुमा आलोपालो प्रणाली लागू गरिएको थियो।
यसपटक कोरोना महामारी बढेसँगै धेरै सार्वजनिक तथा सरकारी कार्यालयबाट प्रवाह हुने सेवा संकुचित भएको छ। धेरैजसो कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकाले सेवा प्रवाह प्रभावित भएको छ।
नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गर्नुपर्ने सार्वजनिक तथा सरकारी कार्यालयका धेरैजसो कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।