काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ७ राजनीतिक दलनिकट विद्यार्थी संगठनले विरोध जनाएका हुन्। बिहीबार संयुक्र प्रेस वक्तव्य जारी गर्दै उनीहरुले मूल्यवृद्धि फिर्ता नलिए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्।
नेकपा एमालेनिकट अनेरास्ववियुलगायत ७ विद्यार्थी संगठनले इन्धनमा मूल्यवृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गरिएको बताएका छन्। उनीहरुले भनेका छन्, ' जनतालाई राहत दिनु त कहाँ हो कहाँ, सरकार कोभिड खोप लुकाउनमा व्यस्त छ। गरिब जनताको चुल्हो निभ्ने गरी मूल्य बढाउने जनतामारा कदमले हामीलाई आक्रोशित बनाएको छ।'
मूल्य समायोजन गर्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाउने गरेको उनीहरुको आरोप छ। भनिएको छ, 'आयल निगमले चुहावट नियन्त्रणमा पटक्कै ध्यान नदिने, घाटा हुँदा पनि आफ्ना कर्मचारीलाई बोनस र भत्ता वितरण गर्ने र कर्मचारीको मनोमानीलाई लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छौं।'
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न समेत माग गरिएको छ।
'अन्यथा हामी मुल्यवृद्धिविरुद्ध जस्तोसुकै प्रतिकारमा उत्रन बाध्य हुनेछौं र यसको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिन चाहन्छौं। साथै देशैभरिका नेता कार्यकर्ताहरुलाई मूल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आव्हान गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।