फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने मनस्थितिमा देखिएका छन्।
गठबन्धन दलका नेताहरूको बैठकमा देउवाले निर्वाचन आयोगले तोकेकै मितिमा निर्वाचन गर्नुपर्छ भन्नेमा अडिग रहेको एक नेताले बताएका छन्।
मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा पनि देउवाले निर्वाचन आयोगले तोकेकै मितिमा निर्वाचन गर्नुपर्ने अडान राखेका थिए।
‘उहाँले वैशाखमा आयोगले तोकेकै मितिमा चुनाव गरौं भनेर भन्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘अन्य दलहरुले त्यसमा सहमति जनाइसकेका छैनन्। फेरि छलफलमा बसेर साझा धारणा बन्छ होला।’
महामारीलगायतको कारण देखाएर चुनाव गरिएन भने एमालेले 'परमादेशवाला सरकार चुनावबाट भाग्यो' भन्ने आरोप लगाउने देउवाको बुझाइ रहेको छ।
‘पाँच-पाँच दल मिलेर बनेको परमादेशवाला सरकारले एमालेले एक्लै चुनाव लड्छु भन्दा पनि सकेन भन्ने चुनाव विरोधी प्रचार गर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘चुनाव विरोधी हामी किन हुने? चुनाव जित्दै छौं त। त्यस कारणले महामारी भनेर नअल्झिउँ, अब धेरै समय कोरोनाले नलेला।’
उनले वैशाखसम्म कोरोना महामारी पनि नियन्त्रणमा आइसक्ने भएकाले ढिलो गर्न नहुने धारणा राख्दै आएका छन्। उता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल भने आफूहरु चुनावदेखि नडराएको बताए पनि महामारीलाई पनि ध्यान दिनुपर्छ भन्ने पक्षमा देखिएका छन्।
‘चुनावमा जान डराएको होइन अहिले महामारी छ। चुनाव घोषणा भएपछि झन् बढ्न सक्छ। त्यसकारण मानिसको स्वास्थ्य पनि हेरौं,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘छलफल गरौं सकेसम्म वैशाखभन्दा पर सार्दा नै राम्रो होला।’
उनका अनुसार प्रधानमन्त्री देउवा आफू नेतृत्वको सरकार चुनावबाट भागेको भन्ने आरोप नलागोस् भन्ने मनस्थितिमा देखिएका छन्। ‘उहाँमा एमालेले देउवा नेतृत्वको सरकार चुनाव विरोधी छ भनेर प्रचार गर्छ भन्ने परेको छ,’ ती नेता भन्छन्,‘अब अरु दल संवैधानिक र कानुनी जटिलता समाधान गरेर एकै पटक तीनवटै तहको चुनाव गरौं भन्नेमा देखिएका छन्।’
स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बिहीबार पनि समन्वय समितिको बैठक बस्दै छ। बिहान ११ बजे बालुवाटारमा बोलाइएको बैठकमा यसबारे दलहरुबीच ठोस छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।