काठमाडौं– रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ, महाभारतको सबैभन्दा अग्लो डाँडा मात्र नभएर धार्मिक तथा पर्यटकीयस्थल पनि हो। यसको विकासका लागि संघीय सरकारले समेत बजेट छुट्याएको थियो। तर, त्यही बजेटका कारण रामेछापको दोरम्बा शैलुङ गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाबीच सीमा विवाद भएको छ। करिब चार वर्षदेखिको विवाद समाधान हुन सकेको छैन।
संघीय सरकारले शैलुङ पर्यटन पदमार्ग विकासको लागि १ करोड रुपैयाँ छुट्याएको थियो। उक्त रकम सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका, रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले र दोलखाको शैलुङ गाउँपालिकाले संयुक्त रुपमा खर्च गर्ने २०७५ सालमा सहमति भएको थियो। तर, पछि शैलुङ गाउँपालिकाले मात्रै सो रकम खर्च गरेपछि शैलुङ र दोरम्बा शैलुङ गाउँपालिकाबीच सीमा विवाद सुरु भएको हो।
सुरुमा तीन गाउँपालिकाले ३३/३३ लाख पाउने सहमति भएको थियो। तर, शैलुङ गाउँपालिकाले सो रकम एकलौटी चलाएपछि आफूहरूले उक्त स्थलमाथिको स्वामित्व दाबी गरेको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताए। ‘शैलुङ डाँडा दोलखामा मात्र पर्ने होइन,’ उनले भने, ‘गुगलमा शैलुङ दोलखाको देखिए पनि त्यसको मुख्य भू-भाग रामेछापमा पर्छ। तर, दोलखाले एकलौटी आफ्नो बनाउन खोजेको छ।’
शैलुङमा अहिले बनेका सबै संरचना दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने उनले बताए। गएको स्थानीय तहको निर्वाचनदेखि नै यहाँ सीमा विवाद सुरु भएको उनको भनाइ छ। उनले भने, ‘सीमा समस्या धेरै ठाउँमा छ। सहमतिमा विवाद किनारा लगाउँदै आइएको छ। शैलुङमा भने हामीले विवाद निम्त्याएको होइन। त्यो हाम्रै ठाउँ हो।’
तर, संघीय सरकारले बजेट छुट्याउनुअघि यो डाँडालाई लिएर विवाद थिएन। दुई गाउँपालिकाबीच विवाद हुँदा शैलुङमा पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण हुन ढिलाइ भइरहेको छ। विवादका कारण पर्यटन विकास प्रभावित छ, दुई गाउँपालिका आरोप–प्रत्यारोपमै लागेका छन्। अध्यक्ष मोक्तान भन्छन्, ‘सीमा विवाद पहिला टुंग्याउनुपर्छ। पर्यटनमा असर परे हामीलाई मात्र पर्ने होइन, सबैलाई पर्ने हो। नपरे कसैलाई पर्दैन।’
शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल भने आफूहरूले संघीय सरकारबाट बजेट नलिएको दाबी गर्छन्। संघीय सरकारले दिएको रकमबारे आफूलाई जानकारी नभएको उनको भनाइ छ। शैलुङ गाउँपालिकाको आफ्नै रकमले शैलुङमा पर्यटन विकासको काम गरिरहेको उनले बताए।
ऐतिहासिक कालखण्डदेखि शैलुङ क्षेत्र दोलखाको भएको दुलालले बताए। शैलुङ गाउँपालिकाका जनता, राजनीतिक दल, बुद्धिजीवी र अगुवा नागरिकको आफूहरूलाई साथ रहेको उनको भनाइ छ। ‘संघीय सरकारले दिएको बजेटबारे मलाई थाहा छैन। परम्परादेखि शैलुङ दोलखामा पर्छ। अहिले पनि हामीले स्वतन्त्र नापीविज्ञमार्फत अध्ययन गरिसकेका छौँ’, उनले भने।
भएकै छैन सीमा निर्धारण
२०३२ सालको नापी र नक्साअनुसार शैलुङ डाँडाको ९० प्रतिशत भू-भाग रामेछापमा पर्ने दोरम्बा शैलुङ गाउँपालिकाको दाबी छ। तर, अहिले शैलुङले यो डाँडा परम्परादेखि नै दोलखाको भएको दाबी गरेको छ। विवाद बढेपछि समाधानका लागि गत वर्ष दुई पालिकाबीच छलफल भएको थियो। त्यसपछि रामेछापको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले नापी विभागमार्फत सीमा निर्धारणको पहल गरेका थिए। तर, सीमा विवाद टुंगिन सकेको छैन।
शैलुङको थुम्कोबाट उत्तरतिरको पानीढलो क्षेत्र दालखाको र दक्षिण पानीढलो क्षेत्र रामेछापको भएको शैलुङ गाउँपालिकाको दाबी छ। सो बमोजिम दोलखाको शैलुङ गाउँपालिकामा बुद्धको पाइला, पृथ्वीको नाइटो, गाईढुंगा, बाघढुंगा लगायत ऐतिहासिक तथा धार्मिक क्षेत्र पर्छन्। त्यहाँ शैलुङ गाउँपालिकाले नै ठाउँ चिनाउने बोर्ड राखेको छ।
२०७५ सालमा दोरम्बा शैलुङ गाउँपालिकाले प्रथम शैलुङ महोत्सव गर्ने योजना सार्वजनिक गरेको थियो। त्यति बेला दोलखाको शैलुङ गाउँपालिकाले विरोध जनाएको थियो। महोत्सवका लागि दोरम्बा शैलुङ गाउँपालिकाले राखेको स्वागत ब्यानर शैलुङ गाउँपालिकाले च्यातिदिएपछि विवाद झनै बढेको थियो।
शैलुङ गाउँपालिकाको दुई किलोमिटर सीमाभित्र घुसेर स्वागत ब्यानर राख्ने र आफ्नै मानिस मात्र ल्याएर मुचुल्का उठाउने काम गर्दा आफूहरू चुप नबस्ने अध्यक्ष दुलालले बताए। ‘कसैलाई अन्याय गर्दैनौँ र अन्याय, थिचोमिचो तथा अपमान पनि सहन सक्दैनौँ,’ उनले भने, ‘शैलुङमा भएका सबै थुम्का दोलखाको हो। पटकपटक नापी भएको छ। तर, नापीले प्रष्ट देखाएको छैन।’
पर्यटकका लागि राम्रो गन्तब्यका रुपमा चिनिने शैलुङलाई विकास गर्नका लागि दुई जिल्लाबीच देखिएको विवाद समाधान गर्न आवश्यक रहेको पर्यटन अभियान ‘जाऔँ है दोलखा’ संयोजक लिलाराम खड्काले बताए। विवाद समाधान गरेर शैलुङमा थप पूर्वाधार विकास गर्नुपर्ने उनी बताउँछन्।
कंक्रिटले कुरुप बन्दै शैलुङ
शैलुङ आफैँमा प्राकृतिक ‘भ्यु टावर’ हो। पछिल्लो समय त्यहाँ कंक्रिटका संरचना बन्दै जाँदा प्राकृतिक सौन्दर्य हराउने चिन्ता कतिपय स्थानीयको छ। शैलुङको १०८ वटा थुम्कामध्ये सबैभन्दा अग्लोमा भ्यु टावर र ‘ज्याङछ्युब’ छ्योर्तेन निमार्ण गरिएको छ। तर, भ्यु टावरको संरक्षण नहुँदा गेट भत्काइएको छ भने भित्र पनि शौच गर्ने ठाउँ भएको छ। त्यसैगरी, रिग्सुम गोन्पो समाजको अग्रसरतामा अहिले ५३ फिट अग्लो स्तुपा बनिरहेको छ।
सीमा विवाद समाधान भएपछि दोरम्बा शैलुङ गाउँपालिकाले त्यहाँ बनेका संरचनाको संरक्षण गर्ने र विकासका काम अघि बढाउने अध्यक्ष मोक्तान बताउँछन्। अहिले भने विवादले गर्दा व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ। ‘शैलुङमा अहिलेका संरचना स्थानीय सरकार आउनुअघि नै पर्यटन विभागबाट निर्माण भएको रहेछ,’ उनले भने, ‘अब हामी शैलुङमा कंक्रिटका नयाँ संरचना बनाउन दिदैनौँ। पुरानो बनिसकेको संरचनाको उचित व्यवस्थापन गर्नेछौँ। तर, त्यसका लागि विवाद समाधान हुनुपर्छ।’
शैलुङ क्षेत्रमा पर्ने खोलाखर्क बजार सार्वजनिक जग्गा भएकाले यसअघि दोरम्बा शैलुङ गाउँपालिकाले त्यहाँ होटल तथा रिसोर्टहरु बनाउन निषेध गरेको थियो। तर, अहिले सो स्थानमा धमाधम १० कोठे होटल बनिरहेको छ। तर, मोक्तानले भने पहिला बसेकाहरुलाई मात्रै होटल बनाउन दिएको र अब कार्यविधि बनाएर मात्र नयाँ निर्माण गर्न दिइने बताए।
के छ शैलुङमा?
शैलुङ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल हो। १०० बाट बोलचालमा ‘शै’ भएको र तामाङ भाषाको ‘लुङ’ जोडिएर शैलुङ नाम रहेको स्थानीयको भनाइ छ। लुङको अर्थ डाँडा हो। त्यहाँ १०८ थुम्का छन्।
बौद्ध धर्म अनुयायीहरूका अनुसार यहाँ सङ्गेला ज्ये अर्थात् बुद्धको पाइला भएकाले पहिला साङ्गेलुङ पनि भनिन्थ्यो। पछि अपभ्रंस भएर शैलुङ भनिएको बताइन्छ। डाँडाको एउटा ढुंगामा बुद्धका पाइला छन्।
शैलुङलाई प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ। यो डाँडाको उचाइ ३,१४६ मिटर छ। यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। त्यसैगरी, बाघ र गाई जस्ता ढुंगा छन्। त्यसैले शैलुङलाई बाघढुंगा पनि भनिन्छ।
शैलुङ क्षेत्रकै दोलखातिर पर्ने कालापानी जाने बाटोमा डाँफेको शिलापत्र देख्न सकिन्छ। कालिञ्चोकी देवता र शैलुङे देवताबीचको अग्लो स्थानमा बस्ने भन्ने विवाद हुँदा कालिञ्चोकबाट उडाएको डाँफे शैलुङमा ठोक्किएको लोकोक्ति छ।
गुराँस फुल्ने सिजन फागुन-चैतमा यहाँको वन राताम्मे हुन्छ। यहाँ धेरै किसिमका गुराँस पाइन्छन्। वैशाख–जेठमा चाहिँ चिमाल फुल्छ। यतिबेला शैलुङ सेताम्मे हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।