नेकपा (माओवादी केन्द्र)ले आइतबारदेखि काठमाडौको प्रज्ञा भवनमा सुरु हुने पहिलो राष्ट्रिय सम्मेलनलाई अन्तिम घडीमा आठौं राष्ट्रिय महाधिवेशनमा रुपान्तरित गरेको छ। देशभरबाट आएका १६ सयभन्दा धेरै प्रतिनिधिलाई राखेर क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणको बहस गर्ने घोषणा माओवादीले गरिसकेको छ। माओवादीमा नयाँ नेतृत्व, पदका आकांक्षी नेताहरुको व्यवस्थापन र विचारको बहसलगायत विषयमा केन्द्रित रहेर स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानीः
आजदेखि तपाईंहरुको महाधिवेशन सुरु हुँदैछ। महाधिवेशन सकिँदा माओवादी कस्तो भएर आउला?
माओवादीका नेता र कार्यकर्ता महाधिवेशनमा हुने बहसपछि तालिम सम्पन्न गरेका सेना जस्तै भएर निस्कनेछन्। कुनै पनि एक्सनमा जानुअघि सेनाले तालीम गर्छ। त्यसपछि एक्सनमा जान्छ। यसको मतलव माओवादी खारिएको, तिखारिएको, बलियो र तन्दुरुस्त भएर देश सम्हाल्ने, समाजवाद ल्याउन सक्ने पार्टी बन्ने छ। फेरी एक पटक नेपाली जनतालाई परिवर्तनका पक्षमा नेतृत्व गर्ने हैसियत सहित माओवादी राष्ट्रिय सम्मेलनबाट निस्कनेछ।
१० वर्षे सशस्त्र विद्रोह हुँदै शान्ति प्रक्रियामा आएको १५ वर्ष भयो। अहिले फेरि क्रान्तिकारी विचार र पार्टी बनाउने भन्दै हुनुहुन्छ। अचानक त्यस्तो पार्टी बनिहाल्ला र?
अहिलेको प्रश्न यही हो। माओवादीको संगठनात्मक आधार र जनयुद्ध सुरु गर्नुभन्दा अघिको संगठनात्मक आधारलाई हेर्नुभयो भने आकाश पाताल फरक छ। त्यतिबेला माओवादी सानो शक्ति थियो। अब माओवादी सकिन्छ, विलाउँछ भनेर खिसिट्यूरी गर्नेहरु थिए। तर, माओवादी आयो। जनयुद्ध गरेर राजतन्त्र फाल्यो। गणतन्त्र ल्यायो। माओवादीले नै उठाएका अजेण्डाले मुलुक चलेको छ। उदाहरणका लागि संघीयताको मुद्दा कसले उठायोरु माओवादीले उठायो र कार्यान्वयन गर्यो। राजतन्त्र फाल्ने कुरा माओवादीले गर्यो। अरुले सकिँदैन भने, सम्भव छैन भने। संवैधानिक राजतन्त्र भन्दै कतिपय हिँडे पनि। कतिपय हुँदाहुँदै बेबी किङ भनेर हिँडे। माओवादीले सकिन्छ भनेर लाग्यो। माओवादीले देशमा गणतन्त्र ल्याइछाड्यो। समानुपातिक, समावेशी पहुँचसहितको प्रणाली भनेर लाग्यो। पम्परागत किसिमको लोकतन्त्र होइन, फरक किसिमको लोकतन्त्र हुनुपर्छ भनेरै लाग्यो। आखिर त्यही मुद्दामा देश हिँड्न बाध्य भयो।
अहिले पनि कतिपयले माओवादी उठ्न सक्दैन, माओवादी थला पर्यो, माओवादी सिद्धियो भन्दैछन्। अब प्रचण्डको नेतृत्व सम्भव छैन भन्दै खिसिट्यूरी गर्ने गरेका छन्। मेरो जवाफ छ– त्यो खिसिट्यूरी २०५१ सालमा शसस्त्र सघर्ष गर्छौं भन्दा पनि गरिएको थियो। तर, माओवादी जुर्मुराएर आयो। गरेर देखायो। अहिले पनि माओवादीले वडादेखि अधिवेशन गर्दै राष्ट्रिय सम्मेलन (महाधिवेशन)मा आइपुगेको छ। पार्टी सदस्यता आठ लाख पुगेको छ। अब माओवादीले गरेर देखाउने छ।
पार्टीमा विसंगति र विचलन चुलिएको भनेर माओवादी आलोचित छ। अब फेरि क्रान्तिकारी विचार र पार्टी चाहिन्छ भन्ने बोध कहाँबाट भयो?
मानिसको समुदायलाई इंगित गरेर भन्ने प्रचलन छ नि। त्यो हिसाबले माओवादी भनेको जात हो। मैले अघि पनि भनेको थिएँ, माओवादीले भनेको कुरा गरेको छ। हामीले १५ वर्ष संसदीय अभ्यासमा बितायौँ। त्यो स्कुल हो। विश्वविद्यालय हो। हामी शान्ति प्रक्रियाको एउटा विश्वविद्यालयमा भर्ना भएका थियौं। हामीले हिजो जनताको पक्षमा उठाएका अजेण्डा जनताको मत अनुरुप पछिल्लो प्रक्रियामा कति पालना गर्यौं, कति सकेनौं। अर्को, एमालेसँगको एकता भयो। यी विधि र प्रक्रियामा हामीले पाठ सिक्यौँ। त्यस विषयमा धेरै खोज, अनुसन्धान र विश्लेषण गर्यौं। ती सबै कुरा भोग्यौं। यी भोगाइको सार के हो भने माओवादी अब अगाडि बढ्ने वा सिद्धिने भन्ने गम्भीर चुनौतीको दोसाँधमा उभिएको छ।
हामीलाई सिद्धिने वा पछि हट्ने छुट छैन। हामी अगाडि बढ्नुको विकल्प छैन। हामी अगाडि बढ्ने भनेको पुर्नजागृत भएर हो। त्यस कारण माओवादी अगाडि बढ्ने क्रममा छ। त्यसको जवाफ यो देशको पहिलो पार्टी, शक्तिशाली पार्टी, देशको संस्कार र संस्कृतिले अरुभन्दा फरक पार्टी रुपमा स्थापना गरेर दिन्छौं भन्ने आत्मविश्वास बढेको छ।
माओवादी कमजोर भएपछि एकल रुपमा चुनाव लडेन। कहिले कांग्रेस, कहिले एमालेको फेर समातेर चुनाव लड्यो। अब कसको आडमा जाने भनेर पर्खेर बसेको छ भन्ने कतिपयको आरोप पनि छ नि?
कतिपय भनेका को हुन? हामीले हेरेका छैनौँ। ती कतिपय भनेकाहरु यहीँबाट आएका होइनन्। माओवादी नभएर विगत १५ वर्ष कसैको केही चलेको छ? कतिपय भन्नेहरुले माओवादीको आलोचना गरेका छन्। उनीहरुलाई पनि माओवादी चाहिएको छ। माओवादी कसैसँग नमिलेर सक्दैन भन्ने कुरा मात्रै होइन। माओवादीसँग नमिलेर एक्लै तिनीहरु पनि सक्दैनन्। माओवादीले यो संविधान बनाउने, यो प्रणाली ल्याउनेमा सबैभन्दा धेरै रगत, पसिना, आँशु र दुःख–कष्ट गरेको छ। यो प्रणालीमा ढलीमली गर्ने अनि माओवादी सिद्धियो भन्न मिल्छ? ती कतिपयलाई मेरो जवाफ छ–उहाँहरुलाई पनि माओवादी नभएर हुँदैन।
माओवादीले अरु खोज्ने होइन, माओवादीलाई खोज्न उहाँहरु नै बाध्य हुनुहुन्छ। त्यो शक्ति माओवादीमा हिजो पनि थियो, आज पनि छ। २०४८ सालको संसदमा माओवादी तेस्रो पार्टी भयो। त्यसपछि हामी निर्वाचन प्रक्रियामा जाँदै गएनौं। जनयुद्धको कोर्षमा गयौं। पहिलो संविधान सभामा पहिलो पार्टी भएर आयौं। त्यसपछिका चुनावमा दोस्रो तेस्रो भयौं। एमालेसँग एकता गरेर चुनावमा जाँदा, नेकपा हुँदा पहिलो शक्ति भयौँ। माओवादीको भूमिका भएरै त उहाँहरुले एकता गर्नुभयो। त्यसो भन्ने साथीहरुलाई सम्मानपूर्वक भन्न चाहन्छु, कृपया, तपाईंहरुलाई नै माओवादी आवश्यक छ। तपाईंहरुले भन्दा माओवादीले पछिल्लो परिवर्तनका पक्षमा सबैभन्दा बढी दुःख, मिहिनेत गरेको छ। त्यसको बारेमा हजार ठाउँमा बहस गर्न तयार छौं।
तपाईंले क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने कुरा गर्नुभयो। तर, कतिपय जनवर्गीय संगठनको टाउको छ, शरीर छैन। कतिपयको शरीर छ टाउको छैन। कमिटीकै हालत यस्तो छ भने पार्टी विचारमा चाहिँ क्रान्तिकारी कसरी होला?
द्वन्द्वात्मक भौतिकवादका विषयमा मार्क्सले ब्याख्या गर्दा भनेको कुरा याद आयो। खालि टाउको तल, खुट्टा माथि छ। मार्क्सले द्वन्द्ववाद र भौतिकवादको अलग अलग विषयलाई ब्याख्या गर्नेक्रममा त्यो सिद्धान्तको ब्याख्या गर्नु भएको थियो। त्यसलाई अब टाउको माथि र खुट्टा तल भएमा सल्टिन्छ भनेर ब्याख्या गर्नुभयो। माओवादीको यो वीचमा त्यही समस्या रह्यो। माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी संगठन टाउको तल खुट्टा माथि हुन पुग्यो। हामीले संगठनात्मक समस्या हल गर्न सकेनौं। संगठन जेनतेन चल्यो, एउटा कुरा भयो। जनताले गरेको समर्थन, जनताले दिएको निर्वाचनको भोट, जनता सहभागी भएको कुरालाई संगठनात्मक रुपमा व्यवस्थापन गर्ने कुरा भएन। विचार र दृष्टिकोणलाई व्यवस्थित गर्नुको अतिरिक्त कमजोरीको रुपमा देखा पर्यो। हामीले त्यो सिक्नु पर्ने, सच्याउनु पर्ने महत्वपूर्ण पक्ष हो।
आज पनि त्यसकै ह्याङओभर देखापरेका छन्। कतिपय जनवर्गीय संगठनमा विचार, पद्दति, प्रणाली अघि नसारेर व्यक्ति र व्यक्तिको अनुहार अगाडि सारेर गर्दा संगठनमा समस्या आउँछ। संगठनको प्रणाली, नयाँपन, विचार र उद्देश्य अनुरुप लगियो भने संगठनको समस्या सहजतापूर्वक हल हुन्छ। तर, व्यक्ति हेर्ने, व्यक्तिलाई सेटिङ गर्ने कुरा हेरियो भने व्यक्ति सबै राम्रै देखिन्छ। त्यसैले, यो बीचमा माओवादीको संगठनात्मक समस्या गहिरोगरी देखा पर्यो। हामीले त्यहीँनेर करेक्सन गर्ने कुरा उठाएका छौँ। त्यसलाई करेक्सन गरेर, सच्याएर अगाडि बढ्नु पर्छ। व्यक्तिका पद प्रतिष्ठा मुख्य होइनन्। विचार, दृष्टिकोण र उद्देश्यलाई प्राथमिकतामा राखेर, पार्टी पंक्तिलाई त्यसमा प्रशिक्षित गरेर त्यस वरिपरि गोलबन्द भएर जानु पर्ने छ।
माओवादीका कतिपय नेताहरु प्रचण्डपथ ब्युँताउँनुपर्छ भनिरहेका छन्। प्रचण्डपथमा के छ र छाडिसकेर पनि फेरि ब्युँताउनुपर्ने?
प्रचण्डपथमा धेरै राम्रा कुरा थिए। बाहिर प्रचण्डपथलाई खिसिट्युरी गरे। यो आन्दोलनमा नभएकाहरुले मिनिमाइज पनि गरे। अहिलेको पुस्ता कोही कलेज छाडेर, शिक्षण पेसा छाडेर, विद्यावारिधि गरेको क्षमतावान व्यक्ति त्यो काम छाडेर राजनीतिमा हिँड्न तयार छैन। त्यतिबेला यही प्रकारको मूल्यमान्यता पार्टीमा स्थापित गरेकाले सम्भावना भएका युवाहरु, सम्भावना भएका व्यक्ति व्यक्तित्वहरु पनि आफ्नो व्यक्तित्वको सम्भावित पाटो छाडेर देश र जनताको निम्ति समर्पित भएर हिँडेका थिए। त्यो प्रेरणा दिने भावको विचार भनेको प्रचण्डपथ थियो। हामीले त्यो शब्द प्रयोग नगरिकनै अझ वृहत रुपमा त्यस प्रकारका मुल्यमान्यताहरुभित्र अरुलाई पनि समेटेर लैजान यसलाई स्थगन गरेका हौं। एकताको उद्देश्य राखेर त्यसो गरिएको हो। प्रचण्डपथ पदावली प्रयोग गर्दा त्यसको भावपक्षलाई नहेरेर शाब्दिक पक्षलाई मात्रै हेरेर अरुले मान्दैनन् भनेर पनि स्थगन गरेका हौं।
प्रचण्डपथ स्थगन गरेपछि अर्को कुनै विचार, दृष्टिकोण र शब्दको खोजी गरेर त्यहीँ वरिपरि हामीले स्थापित गरेको मूल्यमान्यता, विचार र दृष्टिकोणलाई केन्द्रित गर्न सक्नुपर्ने थियो। त्यो नगरेर प्रचण्डपथलाई पोस्टपोन्ड गर्यौं। त्यसपछि पार्टीमा अराजकता सुरु भयो। संगठनमा अराजकता, प्रणालीमा अराजकता, विश्वासमा अराजकता, आफ्नै साथीको विश्वास नगर्ने, टुटफुट विभाजनतिर हामी गयौं।
प्रचण्डपथ ब्यँताउनुपर्छ भन्ने तपाईंको धारणा हो?
हामीले प्रचण्डपथ ब्युँताउने भनेका छैनौं। फेरि पनि एकताको सम्भावना छ। समाजवादमा पुग्नको निम्ती शक्तिशाली पार्टीको आवश्यकता छ। हामीबाहेकका शक्तिले सोचेका छन् भने, त्यो उद्देश्यमा मिल्न सक्ने शक्ति छन् भने हामीले लिएको नीति बाधक हुनु हुन्न। त्यही भएर आज फेरि प्रचण्डपथ लागू गरौं भनेर हामीले भनेका छैनौं। हिजो त्यसको औचित्य र महत्व थियो। त्यो प्रचण्डपथ शब्दको मात्रै होइन। नेतृत्वको प्रश्न, विचार, दृष्टिकोण र त्यसलाई कार्यन्वयन गर्ने लिडरसिपसँग समेत जोडिएको प्रश्न भएकाले हामीले फरक ढंगले प्रचण्डपथका विषयमा समीक्षा गर्नुपर्छ भन्ने उठेको छ। प्रचण्डपथ ब्युँताएर मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रचण्डपथ भनौं भन्ने कुरा उठेको छैन। सिंगो माओवादीको समीक्षा गर्दा प्रचण्डपको पनि हामीले समीक्षा गर्ने भनेका छौं।
माओवादीमा लामो समयदेखि प्रचण्डले नेतृत्व गरिरहनुभएको छ। तर, माओवादीमा नेतृत्व हस्तान्तरणको विषय कहिलै उठ्दैन भन्न थालिएको छ। तपाईंलाई त्यस्तो भएको भन्ने लाग्दैन?
त्यस्तो होइन। माओवादीमा प्रचण्डपछि नेता नै छैन भनेर एउटा मिडियामा देखेको थिएँ। प्रचण्ड नभएपछि कसैले सम्हाल्न सक्दैनन्, भएका नेताको क्षमता छैन, यस्तै कुरा आएका थिए। त्यो साँचो होइन। एउटा चेनमा तलदेखि माथिसम्म प्रणालीमा लिडरसिप विकासको शृंखला अगाडि बढेको छ। एउटा ग्याप प्रचण्डपछिको दोस्रो तहमा छ। त्यो तहमा देखापरेका नेताहरु जसले प्रचण्डलाई समेत स्थापित गर्न भूमिका निर्वाह गर्नुभएको थियो, उहाँहरु प्रचण्डसँग नरहनुका कारणले यो प्रश्न उठेको छ। बादल, किरण, बाबुरामजी लगायत नेताहरु यो पार्टीमा भएको भए यो बहसले अर्को रुप लिन्थ्यो। उहाँहरुले न अर्को कुनै गर्न सक्नुभयो। उहाँहरु खेति लाउन हिँड्नुभयो, तर फल्या छैन। खेति लगाएपछि फल्नु पर्यो। त्यो ठाउँमा लगाएको खेति यो कारणले राम्रो भएन भनेर आलोचना गरेको भए मिल्थ्यो। जतिसुकै मिहिनेत गर्दा पनि माओवादी जत्तिकै बनाउन गाह्रो भएको छ। बरु हामीले अघि सारेका विचारकै वरिपरि रहेर, त्यसकै पक्षमा भएका कमीकमजोरी सच्याएर अगाडि बढेको भए हिजो जनयुद्ध र जनआन्दोलन सँगै बसेर गरेको त्यागको निरन्तरताको शृंखला जोडिने थियो। यो कारणले प्रचण्डपछि कोही नेता छैन भनेर माओवादी आन्दोलनमा उठ्न सक्दैन।
प्रचण्ड बाहेक नेता पनि छैनन्, प्रचण्डले धेरै गल्ती गरेका छन्, प्रचण्ड बिग्रिइसकेका छन् त्यसकारण माओवादी पार्टी उठ्न सक्दैन भनेर चलाएको हल्ला वाहियात कुरा हो। माओवादी पार्टीमा जीवन्त अनुभुति भएका नेताहरु छन्। पार्टीमा समपर्ण र त्यागको भावना अहिले पनि छ। त्यसलाई कतिपय अवस्थामा प्रभवकारी रुपमा प्रयोग गर्न सकेका छैनौं। त्यसकारण हामी अगाडि बढ्न सक्छौं। विकल्प जतिखेर आवश्यक हुन्छ, त्यतिखेर तयार हुने हो। नेताहरुलाई विशिष्ट आन्दोलनले विशिष्ट अवस्थामा अगाडि ल्याउँछ। प्रचण्ड यस्तो व्यक्ति हुनुभयो कि जनयुद्ध र जनआन्दोलनको पछिल्लो चरणले नेताहरुको टिमको पनि नेताको रुपमा प्रकट हुनुभयो। उहाँको विकल्प छैन। भर्खरै उहाँको विकल्पमा कोही नेता उठछ त भन्दा उठ्दैन। उहाँको विकल्पमा उठ्नै पाउँदैन भन्ने हुँदैन, उठ्न पाउँछ। तर, विकल्प तयार भएको छैन। नेतृत्वको चेन शृंखला छैन भन्ने कुरा साँचो होइन।
महाधिवेशनमा नीति र विचारको छलफल पक्कै होला। तपाईंको दाबी चाहिँ कुन पदमा रहन्छ?
मेरो पहिलो चाहना बहस होस् भन्ने छ। व्यक्तिलाई पद, प्रतिष्ठा र प्रलोभनले जोगाउन सकिँदैन। व्यक्ति र पार्टीलाई जोगाउने भनेको विचार, सिद्धान्त, उद्देश्य र लक्ष्यबाट प्रशिक्षित गरेर हो। त्यसकारण विचार, सिद्धान्त, उद्देश्यमा प्रशिक्षित गर्ने ठूलो टिमको माओवादीमा जरुरत छ। त्यसलाई पार्टीमा पुर्नजीवित गर्नु, त्यसलाई जागृत गर्नु, त्यसलाई जगाउँनु, त्यसलाई भर्भराउँदो पार्टी बनाएर जान वैचारिक बहसको आवश्यकता छ। यो हुँदाहुँदै पनि जिम्मेवारीको कुरा आउँछ। पार्टीले जे प्रकारको जिम्मेवारी दिन्छ, मैले विगतमा जिम्मेवारी पुरा गर्दै आएको छु। विद्यार्थी आन्दोलनदेखि जनयुद्धका प्रायः मोर्चामा प्रत्यक्ष सहभागी हुँदै यो पछिल्लो शान्तिपूर्ण आन्दोलनमा सहभागी हुँदै आएको छु। माओवादीले यो जिम्मेवारी लिएर बस भनेर कुनै पदाधिकारीको जिम्मेवारी दिन्छ भने म कुशलतापूर्वक प्रतिस्पर्धा गरेर त्यो जिम्मेवारी लिन सक्षम छु।
तपाइँले अध्यक्षलाई नै यो चाहियो भनेर भन्नु भएको छैन?
भन्या छैन। मैले भन्नु पर्यो भने सार्वजनिक रुपमा भन्दिनँ। मैले पार्टी कमिटीमा अध्यक्षलाई भन्न सक्छु। तर, आवश्यक भूमिका निर्वाह गर्ने जिम्मेवारी चाहियो भन्न सक्छु। माओवादीले पदाधिकारीमा धेरै पद सिर्जना गर्यो भने पदाधिकारीको जिम्मेवारी प्राप्त गर्ने हैसियत राख्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।