काठमाडौं– मेगा बैंकको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत मंगलबार सम्पन्न बैंकको साधारण सभाले बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ। बैंक सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र २ दशमलव ०७ प्रतिशत नगद लाभांश बैंकको साधारण सभाले पारित गरेको हो।
साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत गरेको छ। यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायत कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले बैंकलाई उत्कृष्ट बनाउने लक्ष्य लिएको अध्यक्ष भोजबहादुर शाहले बताए। ‘पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्रलगायत नियमनकारी निकायको नीति तथा निर्देशन अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भने, ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।’
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको सञ्चालन व्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको बताएकी छिन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाउन चाहेको सिइओ खुञ्जेलीले बताइन्। बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै सिइओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरु सञ्चालनमा ल्याइएको जानकारी दिएकी छिन्।
हाल बैंकले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०३ वटा शाखा कार्यालय, २४ वटा एक्सटेन्सन काउन्टर, १ सय ३९ एटीएम तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रमार्फत वित्तीय सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।