शुक्रबारदेखि चितवनमा सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मुलतः पार्टीको नेतृत्व र केन्द्रीय कमिटी चयनमा केन्द्रित हुँदै छ। यसपालि विभाजनबाट गुज्रिएको एमालेमा एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयनमा जोडबल गरिए पनि अब अध्यक्षसहित धेरै पदमा र केन्द्रीय कमिटीमा पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ। प्रतिस्पर्धाको ढोका खोल्ने सुरुआत एमाले उपाध्यक्ष भीम रावलले गरेका थिए। गृहजिल्ला अछाम पुगेका बेला अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले केही दिनपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेरै आफ्नो उम्मेदवारी घोषणा गरे। एमालेको दशौं महाधिवेशन र नेतृत्व चयनमा केन्द्रित रहेर रावलसँग नेपाल लाइभका लागि डिबी खड्काले गरेको कुराकानीको सारसंक्षेपः
नेकपा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी गर्दैगर्दा तपाईंले अध्यक्षमा उम्मेदवारी दिएर त्यसलाई खण्डित गर्नुभयो भनिन्छ नि?
संस्थागत रुपमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेमा छलफल भएको पनि गिएन। त्यस्तो कुनै निर्णय गरिएको पनि छैन। कतिपय साथीहरुको विचार वा चाहना थियो होला। हामीले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा अनुसरण गरेका छौं। माक्र्सवाद र लेनिनबाद अंगालेका छौं। यी सबै सिद्धान्तले प्रतिस्पर्धालाई प्रोत्साहन गर्छन्। त्यसकारण यो सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा कसैको मनमा थियो होला, त्यो औपचारिक छलफलमा आएको थिएन, छैन।
अध्यक्ष केपी शर्मा ओलीलाई एमाले पंक्तिमा निर्विकल्प अध्यक्षका रुपमा ‘पोजिसनिङ’ गरिएको छ। कतिपयले ‘एमालेको आवश्यकता’, राजनीतिको ‘एउटा ध्रुवकै नेता’ आदिका रुपमा चित्रित गरिरहेका छन्। यस्तो माहोलमा उहाँविरुद्ध उम्मेदवारी घोषणा गर्ने आँट कसरी जुटाउनुभयो?
यस्तो कुरा सुन्दा म आश्चर्यमा पर्छु। म यो पार्टीको उपाध्यक्ष हुँ। पार्टीमा झन्डै ५० वर्ष काम गरिसकेँ। पार्टीका अनेकौं जिम्मेवारी पूरा गरेर यहाँ आइपुगेको छु। स्वतः अध्यक्षको उम्मेदवार हुनुपर्ने व्यक्ति हुँ म। मैले कुनै भयंकर अप्ठ्यारो कुरा छिचोलेर यो आँट गरेजस्तो लाग्दैन। यो स्वाभाविक रुपमा आएको छ। सैद्धान्तिक र संगठनात्मक दृष्टिकोणबाट हच्किनुपर्ने कारण नै छैन। जहाँसम्म हाम्रो पार्टी अध्यक्षलाई विभिन्न विशेषण लगाएर पुकार्ने कुरा छ, त्यो कुनै व्यक्ति विशेषले गरेको सम्बोधन होला। त्यसको कुनै अर्थ छैन। कसैका व्यक्तिगत मान्यताका विषयमा म कुनै चर्चा गर्न पनि चाहनन्।
अहिलेको एमाले ओली प्राधिकार एमाले जस्तो देखिन्छ। अध्यक्ष ओलीसँग फरक मत राख्ने एउटा पंक्ति पार्टीबाटै टाढा पुगिसक्यो। अर्को समूह ओलीमै विलयोन्मुख छ। यस्तो अवस्थामा तपाईंले ओलीविरुद्ध उम्मेदवारी दिएर कसरी जित्नुहोला?
नेकपा एमाले कसैलाई प्राधिकार मान्ने पार्टी होइन। हाम्रो नीतिले, हाम्रो विधिले सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी भनेको छ। सबै नेता र कार्यकर्ताले पार्टीको विधि विधान मान्नुपर्छ, म पनि त्यसमा विश्वास गर्छु। त्यसकारण त्यो प्राधिकारको कुरा, त्यसबारे चर्चा गर्ने व्यक्तिहरुको मात्र कुरा हो।
मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु। मेरो जित्ने आधार भनेको यो पार्टीमा ५० वर्षसम्म बगाएको पसिना हो। विभिन्न मोर्चामा आफूलाई प्रमाणित गरेको विगत हो। र, गएको महाधिवेशनमा सर्वाधिक मत दिएर कार्यकर्ताले ममाथि गरेको विश्वास हो।
मैले यो देशको, जनताको र पार्टी हितको लागि आफूलाई समर्पित गरेँ। विधि, विधान र प्रणालीका लागि जहिले पनि लडेँ। कार्यकर्ता र जनताले संसदीय मोर्चा र पार्टीको मोर्चामा पनि मलाई निर्वाचित गरेका छन्। म यहाँसम्म पार्टीमा निर्वाचित भएर आएको हो।
मैले जुन १२ वटा उद्देश्य र लक्ष्य अनि १५ वटा मान्यता सार्वजनिक गरेको छु, नेकपा एमालेको नेतृत्व प्राप्त गर्दा कसरी अगाडि लैजान्छु र विदेशी हस्तक्षेप तथा तानाबानाबाट देशलाई मुक्त गर्छु भनेर स्पष्ट उल्लेख गरेको छु, त्यसमै धेरै कुरा छन्। साँचो अर्थमा नेपाललाई स्वाधीन बनाउने, नेपालको परराष्ट्र नीतिलाई अघि बढाउँने, असमान सन्धि–सम्झौताहरुको पुनरावलोकन गर्ने र अरु कुनै असमान सन्धि–सम्झौताहरु हुन नदिने लक्ष्य लिएको छु।
नेपालको संविधानमा गरिएको उद्घोष कार्यान्वयन गर्ने भनेको छु। कतिपय विषयमा नेताहरु बोल्न हिच्किचाउँछन्। जस्तो कि अहिले न्यायपालिकाका कुरामा नेताहरु हिच्किचाइरहेका छन्। नेतृत्व त्यसरी चुप लाग्न मिल्दैन। व्यवस्थापिका अनिर्णयको बन्दी बनेको छ र कार्यपालिका अस्थिर छ। यस्तो खालको
अकर्मण्यताबाट, दुविधाग्रस्त अवस्था समाप्त पारेर नेकपा एमालेलाई स्पष्ट नेतृत्व दिने, अन्य राष्ट्रिय दलहरुसँग मिलेर अन्य देशजस्तै यसलाई पनि सार्वभौम सम्पन्न बनाएर अघि बढाउने मेरो जितका वैचारिक आधार हुन्।
एमालेको विगत हेर्दा विभिन्न विचार समूहबीच प्रतिष्पर्धा भएको छ। यसपल्ट त्यो अवस्था त रहेन। तर, एमाले अन्तरसंघर्षमा बनेको ‘दश नेता’को समूहका सदस्यले अध्यक्षमा तपाईंलाई सघाउलान्?
हाम्रो पार्टीले समूहगत रुपमा उम्मेदवारी नदिने निर्णय गर्यो। मैले एकल रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेँ। मैले यस्तो घोषणा गर्दा अरुले किन समर्थन गरेनन् भनेर विभिन्न ठाउँमा चर्चा भएको पाएँ। पार्टीले नै समूहगत उम्मेदवारी नदिने भनेपछि म एक्लै उभिएको हुँ। हामीले गरेको १० बुँदे सहमतिका पक्षमा त उहाँहरु छँदै हुनुहुन्छ। त्यो दृष्टिकोणबाट हामी एकै ठाउँमा छौं।
उम्मेदवारी त उहाँहरुले पनि आ–आफ्नो ढंगले दिनुहुन्छ होला। पार्टीलाई कसरी अगाडि बढाउँने भन्ने कुरा १० बुँदेमा हामीले स्पष्ट उल्लेख गरेका छौं। त्यसैले हामी अहिले पनि एकै ठाउँमा छौं। मलाई लाग्छ, एमालेका अधिकांश नेता र कार्यकर्ता यही पक्षमा हुनुहुन्छ।
नेकपा एमाले यतिबेला एक्लिएको छ। गठबन्धन बनाएर यसमाथि आक्रमण भइरहेकाले सर्वसम्मत नेतृत्व छानेर एकताको महाधिवेशन बनाउने भन्ने कुरामा एमालेका धेरै नेताहरु एकमत देखिन्छन्। यो कुरामा पनि तपाईंको विमति हो?
दशौं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ। त्यसका लागि राम्रो गर्नुपर्छ, समझदारी गर्नुपर्छ भन्ने कुराको त म विरोधी होइन नि। हाम्रो पार्टीको सैद्धान्तिक मान्यता र संगठनात्मक प्रणाली अनुसार यसका नेता र कार्यकर्ताले प्रतिस्पर्धा गर्दा यो कसरी अनेकताको महाधिवेशन हुन्छ? त्यस्तो अर्थ लगाउन मिल्दैन।
बुझ्नुपर्ने के हो भने कि त हामीले प्रतिस्पर्धाको राजनीतिलाई परित्याग गर्नुपर्यो। टिका लगाउने राजनीतिमा जानुपर्यो। अनि माक्र्सवादको द्वन्द्वबादलाई पनि छाड्नुपर्यो। आँखामा पट्टी बाँध्ने, एउटाले जे भन्यो, त्यसैमा टाउको हल्लाउने विधितर्फ जानुपर्यो। त्यस्तो त कम्युनिष्ट पार्टी नै हुन सक्दैन। हाम्रो एमालेमा झन् हुँदैन।
अहिलेसम्म त एमालेको अध्यक्षमा दाबी गर्ने घोषणा म एक्लैले गरेको छु। अरु कोही उठेमा त्यसलाई अन्यथा बुझिँदैन, बुझ्नु हुँदैन। हाम्रो पार्टीको सिद्धान्त र मान्यतालाई होच्याएर फलानोले किन उम्मेदवारी दियो? भनेको पनि मैले सुनेको छु। मलाई आश्चर्य लागेको छ– तिनले माक्र्सवाद बुझेका छैनन् कि? उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने दलको नीति भएपछि त्यो दलको सदस्यले उम्मेदवारी दिँदैन भन्ने पनि हुन्छ र? प्रतिस्पर्धाको बिरोध गर्नु बिडम्बना हो।
अरु कोही तीनजना थप अध्यक्षमा आए भने पनि म त आश्चर्य मान्दिनँ। किनकि हामीले समातेको प्रणाली नै यही हो। कुनै पनि व्यक्तिले निर्धक्क रुपमा चुनावमा प्रतिस्पर्धा गर्ने, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने र स्वतन्त्र रुपमा उम्मेदवार रोज्न पाउने वातावरण बन्दा नै पार्टीको एकता कायम रहन्छ। उम्मेदवारी दिँदैमा एकता खल्बलिने हो भने १०औं महाधिवेशनलाई नेतृत्व चयनको महाधिवेशन भन्न हुँदैनथ्यो। विगत हेर्दा जहाँ प्रतिस्पर्धा गर्ने वातावरण बन्यो, त्यहाँ कुनै समस्या आएन। जहाँ विधि मिचियो, स्वेच्छाचारिताले प्रश्रय पायो, त्यहाँ समस्या आयो।
रावलसँगको विस्तृत अन्तर्वार्ता तलको भिडियोमाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।