काठमाडौं- भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले निरक्षर वृद्धवृद्धालाई लक्षित गर्दै शैक्षिक अभियान सुरु गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ललितपुरमा आयोजित एक कार्यक्रमबीच मङ्गलबार अभियानको शुभारम्भ गरेका हुन्।
निरक्षरताका कारण प्रविधिको प्रयोग गर्न नसक्दा समस्यामा परेका वृद्धवृद्धाको जीवन सहज बनाउने उद्देश्यले अभियान थालिएको भरतमोहन पुत्री लीमा अधिकारीले जानकारी दिइन्। ज्येष्ठ नागरिकलाई राज्य, परिवार र समाजले सम्मान गर्नुपर्छ भन्ने भरतमोहनको मान्यतालाई आफूहरुले आत्मसात गरेर अघि बढेको उनको भनाइ थियो।
पहिलो चरणमा ललितपुरको बुङमतीस्थित शान्ति आश्रम दिवा सेवा केन्द्रमा बुधबारदेखि कक्षा सञ्चालन सुरु हुने उनले बताइन्। उनका अनुसार शनिबारबाहेक सातामा छ दिन सञ्चालन हुने कक्षामा बुङमतीका ६० वर्ष उमेर नाघेका ४० निरक्षर वृद्धवृद्धा सहभागी हुनेछन्।
कक्षामा सहभागी हुनेहरुलाई कार्यक्रममै शैक्षिक सामग्री, पोसाक तथा झोला उपलब्ध गराइएको थियो। फाउण्डेसनले केही दिनभित्रै सबैलाई एक-एकवटा टेलिफोन सेटसमेत उपलब्ध गराउने तयारी गरेको अधिकारीले बताइन्। एक वर्षसम्म सञ्चालन हुने कक्षाबाट साधारण लेखपढ गर्न, आर्थिक हिसाब गर्न, मोबाइल तथा टेलिफोन, कम्प्युटर, इन्डक्सन चुल्होजस्ता विद्युतीय उपकरण प्रयोग गर्न, सडकमा राखिएका ट्राफिक सङ्केत बुझ्न तथा होर्डिङ बोर्ड पढ्नसक्ने बनाउने लक्ष्य राखिएको छ।
प्रतिष्ठानका अनुसार अध्यापनका लागि नेपाली र स्थानीय भाषा (नेवारी)मा दख्खल भएका स्नातकोत्तरसम्म अध्ययन गरेका प्रमुख शिक्षक र स्नातक अध्ययन गरेका एक गरी दुई जना शिक्षक व्यवस्था गरिएको छ। उनीहरुलाई दक्ष बनाउन केही महिना विशेष तालिमसमेत दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।