चितवन- नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ।
महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए।
महाधिवेशनमा सहभागी हुने दुई हजार जना प्रतिनिधि सहज रुपमा अट्ने गरी १३ हजार वर्ग फिटको डोम र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको सुवेदीले बताए। मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने भए पनि बन्दसत्र सौराहामा हुँदैछ।
एमाले महाधिवेशनको बन्दसत्रमा करिब दुई हजार प्रतिनिधि सहभागी हुँदैछन्। सौराहामा दुई दिनसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका अलाबा पाँच हजार मानिस आउने व्यवसायीले अपेक्षा गरेका छन्। महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, पाहुना, सुरक्षाकर्मी र पत्रकारलाई राख्न एमालेले सौराहामा तीन हजार ५०० कोठाहरु अग्रिम बुक गरिसकेको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि उनीहरु बस्ने होटलमा नै दुई दिन रातिको खाना र ३ दिन बिहानको नास्ता होटलमै व्यवस्था गरिएको छ।
मंसिर ११ गते र १२ गते बिहानको खाना सामूहिक रुपमा खाने गरी होटल सेभेन स्टारले व्यवस्थापन गर्नेछ, भने मंसिर ११ राति पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सौराहामा नै रात्रि भोजको आयोजना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।