काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहबाटै मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम अभियानको रुपमा सुरु गर्ने भएको छ।
२०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएका कारण नामवाली संकलन गर्न लागेको हो।
आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि उल्लिखित कार्यालयहरू रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन गर्न लागेको हो।
मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ।
'संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ', आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
मंसिर १७ गतेदेखि सुरू हुने मतदाता नामावली संकलन विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने आयोगको भनाइ छ।
'२०७८ पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न भइसक्नेछ', आयोगको भनाइ छ, '२०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यस कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान गरिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।