काठमाडौं- मंसिर महिनामा बैंकहरुले ब्याजदर बढाएको भएपनि निक्षेप संकलन बढ्न सकेको छैन। यता बैंकहरुले सीडी रेसियोको सीमा नाघेर भएपनि कर्जा लगानी भने बढाएका छन्।
राष्ट्र बैंकले तोकेको सीडी रेसियो कटाएर वाणिज्य बैंकहरुले ३ दिनमै ७ अर्ब रुपैयाँ कर्जा दिएका छन्। तोकिएको ९० प्रतिशत सीडी रेसियो कटाएर मंसिरको ३ दिनमा सो कर्जा प्रवाह गरिएको हो।
नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार २७ वाणिज्य बैंकले कात्तिक ३० गतेसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। मंसिर ३ गते आइपुग्दा ७ अर्ब रुपैयाँले बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुर्याएका छन्।
यो अवधिमा बैंकहरुको निक्षेप भने ७ अर्ब रुपैयाँले नै घटेको छ। कात्तिक ३० गतेसम्म ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहेको वाणिज्य बैंकहरुमा मंसिर ३ गते ४२ खर्ब २६ रुपैयाँमा सीमित भएको छ।
निक्षेप घटेपनि कर्जा प्रवाह गर्दा सीडी रेसियो ९०.५७ प्रतिशत पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।