फाइल तस्बिर
काठमाडौं– भारतले गणतन्त्र दिवस २०२२ को अवसरमा विमस्टेक सदस्य राष्ट्रका नेताहरुलाई अतिथिका रुपमा आमन्त्रण गर्ने तयारी गरेको छ।
वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) मा भारतसहित नेपाल, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यान्मार सदस्य छन्।
यसअघि सन् २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुँदा उनको शपथ ग्रणह समारोहमा विमस्टेक सदस्य राष्ट्रका नेताहरु सहभागी भएका थिए।
भारतले पछिल्लो समय गणतन्त्र दिवसको समारोहमा विदेशी नेताहरु (राष्ट्र तथा सरकार प्रमुख)लाई प्रमुख अतिथिका रुपमा समेत आमन्त्रण गर्ने गरेको छ। तर, २०२२ को गणतन्त्र दिवसको समारोहका लागि प्रमुख अतिथिको टुंगो लागिसकेको छैन।
गणतन्त्र दिवसको समारोहमा सहभागी हुने गरी भारत आउने भनिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो भ्रमण रद्द गरिसकेका छन्। बेलायतमा कोरोना भाइरसका संक्रमितहरु पुन: बढ्न थालेपछि प्रधानमन्त्री जोनसनले आफ्नो भ्रमण रद्द गरेका हुन्।
इन्डियन एक्सप्रेसका अनुसार अहिले साउथ ब्लक (विदेश मन्त्रालय)का अधिकारीहरु विमस्टेक सदस्य राष्ट्रका नेताहरुसँग निकट सम्पर्कमा छन्। गणतन्त्र दिवसको समारोहमा सहभागी हुने विषयमा सबै सदस्य राष्ट्रका नेताहरुलाई पत्र पठाइएको छ। तर, पत्रको जवाफ भने आइसकेको छैन।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे वा उनका भाइ (राष्ट्रपति) गोताबाया राजापाक्षे, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चा र म्यान्मार राज्य प्रशासन काउन्सिलका अध्यक्ष जनरल मिन ओङ ह्लाइङ गणतन्त्र दिवसको समारोहमा सरिक हुन आउने भारतको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।