काठमाडौं- प्रधानन्यायाधीश चलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले दलका नेताहरुलाई ध्यानाकर्षण-पत्र बुझाउने भएको छ।
सोमबार दिउँसो २ बजे नेपाल बारले राजनीतिक दलहरुलाई प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै ध्यानाकर्षण-पत्र बुझाउने भएका हुन्।
शुक्रबार प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ।
बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गरेको थियो।
त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश राणाले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।
तर, नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गर्दै उनको पत्र खारेज गर्दै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो।
सरकारमा भागबण्डा मागेको, विचौलियालाई प्रश्रय दिएको, सहमति कार्यान्वयन गरेको लगायतका आरोप लगाउँदै नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।