काठमाडौं– नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीमध्ये हालसम्म ६ वटाले लाभांश घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गर्नेमा एशियन लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ र गुराँस लाइफरहेका छन्।
गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको हो भने बाँकीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका हुन्। गुराँस लाइफको साउन २४ गतेको सञ्चालक समितिको बैठकले गरेको ५ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मंसिर १० गते हुने वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गर्दै छ।
प्राइम लाइफ इन्स्योरेन्सले मंसिर १९ गते साधारण सभा गर्दै छ। कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यस वर्ष लाभांश सार्वजनिक गर्ने जीवन बीमा कम्पनीहरुमा एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
त्यस्तै, यो वर्ष सूर्या लाइफले १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।
लाभांश सार्वजनिक गर्ने ६ जीवन बीमा कम्पनीहरुमध्ये दुई कम्पनी भने नयाँ जीवन बीमा कम्पनी रहेका छन्। रिलायन्स लाइफ र ज्योति लाइफले पनि लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका हुन्।
ज्योति लाइफले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीका आधारमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट करसमेत ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत रकम छुट्याएको जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।