काठमाडौं- सुडानको सेनाले अपदस्थ प्रधानमन्त्री अब्दल्लाह हमडोकलाई पुन: पदमा बहाली गर्ने भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसारसबै राजनीतिक बन्दीहरूलाई रिहा गर्दै उनलाई पुन: पदमा बहाली गर्ने लागिएको हो।
सुडानको सेनाले ‘कू’गर्दै हमडोकलाई अक्टोबर २५ देखि घरमै नजरबन्दमा राखेको थियो। सुडानमा भएको प्रदर्शनपछि २०१९ मा ओमार अल-बसिरलाई सत्ताबाट हटाइयो।
यससँगै उनको तीन दशक लामो शासनको अन्त्य भएको थियो। र, सेनाको सहयोगमा देशमा नागरिक सरकार गठन भएको थियो। तर, हामडोकलाई सत्ताबाट हटाएपछि सुडानमा लोकतान्त्रिक सरकार स्थापना गर्ने प्रयासलाई धक्का लागेको छ।
अब राजनीतिक दल र सेनाबीचको नयाँ सहमतिअनुसार हामडोकले सरकार बनाउने र प्राविधिक मन्त्रिपरिषद् गठन गर्ने छन्। सम्झौताका लागि वार्तामा संलग्न उमाह पार्टीका प्रमुख फदल्लाह बर्माले सो जानकारी दिएका हुन्।
सुडानको सार्वभौमिकता परिषद्को आइतबार आपतकालीन बैठक बस्दैछ। त्यसपछि मात्रै सहमतिको घोषणा हुन्छ। हमडोकसँग सम्बन्धित स्रोतले नयाँ सम्झौतामा आफू संलग्न रहेको बताएको छ।
अर्कोतर्फ सेनासँग शक्ति बाँडफाँड गरिरहेको नागरिक गठबन्धन फोर्स अफ फ्रिडम एन्ड चेन्ज (एफसीसी) ले सेनासँगको राजनीतिक सहमतिबारे आफूलाई जानकारी नभएको जनाएको छ।
सुडानमा सैनिक विद्रोहपछि देशभर प्रदर्शन भइरहेको छ। कार्यकर्ताहरूले आइतबार ठूलो प्रदर्शनको आह्वान गरेका छन्। सैनिक ‘कू’को विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा हालसम्म ४० जनाको मृत्यु भएको छ। बुधबारको प्रदर्शनका क्रममा १६ जनाले ज्यान गुमाएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।