फाइल तस्बिर चितवन- अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताउएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताएका हुन्।
'एमसीसीबारे गठबन्धनभित्र छलफल भइरहेको छ। सरकारमा पनि छलफल जारी छ,' उनले भने।
देशको विकास, प्रगति, संविधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उनले हरेक निर्णय गठबन्धनबाटै हुने बताए। अर्थमन्त्री शर्माले विदेशी लगानी, विकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिरहेको बताए।
फरक प्रसङ्गमा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताए। धुर्मुस-सुन्तली फाउन्डेसनले साहसिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले भने, 'थोरै लगानीमा पनि खेल खेलाउनसक्ने स्थितिमा पुगेको बुझेको छु। मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस् भनेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।