काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सबै प्रकारका खेलकुद क्षेत्रको विकासका लागि अनुकूल भूगोल भएको बताएका छन्।
अध्यक्ष ओलीले भूगोल, प्रकृति अनुकूल भएकाले नेपालले खेलकुद क्षेत्रको विकासमा पछि पर्नुपर्ने कुनै कारण नरहेको बताए।
एमालेनिकट नेपाल खेलकुद महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘खेल नीति सम्मेलन’मा बोल्दै उनले खेलाडीहरुलाई उत्कृष्ट प्रर्दशनका लागि अधिकतम अभ्यास गर्न पनि आग्रह गरे। अध्यक्ष ओलीले नेकपा एमालेले लिएको खेलकुद नीति सही, व्यावहारिक र उन्नतस्तरको हुनुपर्ने बताए।
एमालेले बनाउने हरेक नीतिमा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्रको विकासका लागि सही नीति लिएको दाबी समेत गरे। ओलीले नीति सही भएपनि त्यसको कार्यान्वयन नहुँदा ‘पुस्तकमा भएको विद्या र अर्काको हातमा भएको धन परेको बेला काम लाग्दैन’ भन्ने उखान जस्तो हुन पुग्नेतर्फ पनि सचेत गराए।
अध्यक्ष ओलीले खेलका तरिका र शिक्षाहरुलाई पनि अभ्यासमा लगिएन भने काम नलाग्ने भन्दै खेलाडीहरुलाई अभ्यास खेलमा ध्यान दिन आग्रह गरे। उनले भने, ‘हाम्रो भूगोल, हाम्रो प्रकृति खेलका लागि, सबै प्रकारणका खेलका लागि उपयुक्त छ। हामी सही नीतिहरु तय गर्दछौं। ती अनच्यालेन्जएवल हुन्छन्। किनभने ती करेन्ट हुन्छन्।’
अध्यक्ष ओलीले खेलकुद क्षेत्रका विज्ञहरुसँग परामर्श गरेर खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन पनि महासंघका पदाधिकारीहरुलाई निर्देशन दिए। उनले खेलाडीहरुको मनोबल बढाउन पनि खेलकुद क्षेत्रका दर्शकहरुको संख्या बढाउन जोड दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।