काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।
उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए। अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिने समेत बताए। उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकारणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए।
‘प्रधानमन्त्री आफैंले सबै कुराहरुलाई राम्रोसँग बुझ्न, समय दिन सकिँदैन। त्यसको निम्ति अरु कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ। सुन्दैनन्’, नेपालले भने, ‘यसको पछाडि राजनीतिक कारण होला। जनतालाई पीडामा, वेदनामा पुर्याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन। बोर्डरमा भएका समस्यालाई समाधान गर्ने उपायहरु खोज्नु पर्दछ। जनतालाई रोजगारी प्रदान गर्ने बारेमा बृहत योजनाको खाँचो छ।’
अध्यक्ष नेपालले खाना पकाउने ग्यासमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए। अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताए।
उनले बाटोमा हुने चोरी र नोक्सानीको बारेमा हिसाबकिताब हुनुपर्ने बताए। अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।